कसैले कहिल्यै नसम्झिएको एउटा चिसो, ढुसी लागेको, अध्याँरो कोठाभित्र फोक्सो फुलाएर घिट्घिटि सास फेरिरहेको मान्छेको सपनबाट घाम चोरेर आफ्नै नाभिमा अग्लिएको सिटि कम्प्लेक्सको तेह्रौ तलाको वाइन बारमा न्यानो पिइरहेको शहरलाई नै मैले सोधेँ– यो शहर कसको हो ? यो शहरमा कसैलाई नाम र काम सोध्नु हुँदैन सम्पत्ति र स्वामित्व खोज्नु हुँदैन प्रश्नहरुले शहरका भत्किएका साँघुरा सडकहरुमा गर्मी ह्वात्त बढाउँछ । त्यसबेला, सिङ्गै शहरलाई अलिकति चिस्याउने चिज चाहिन्छ । अनि, कसैले कहिल्यै नसम्झिएको त्यहि चिसो, ढुसी लागेको अध्याँरो कोठाभित्र फोक्सो फुलाएर घिट्घिटि सास फेरिरहेको मान्छेको सपनबाट शितलता चोरेर आफ्नै छातीमा अग्लिएको सिटि कम्प्लेक्सको तेह्रौ तलाको वाइन बारमा बरफका क्यूब मिसाएर चिसो वियरसँग पिउँछ त्यो प्रश्न पनि यो शहर ।