केशव सिग्देल निवन्ध (साभार: कलाश्री २०७२) डायरीः खण्ड—१ भूकम्प गयो। म बहुलाएँ। भूकम्प जानु र म बहुलाउनुका बीचमा खास त्यस्तो कुनै सम्बन्ध छैन। बस्, भूकम्पले मलाई आफू बहुलाएको बुझ्न सजिलो बनाइदियो, त्यत्ति हो। सद्दे छु भनेर अभिनय गर्दा गर्दै जीवनको एउटा लामो कालखण्ड गुज्रियो । तर दर्शकहरुलाई जुन पात्र बनेर देखाउन खोजेको थिएँ, न त्यो पात्रलाई सजिव तुल्याउन सकियो, न म आफू जे थिएँ त्यो वास्तविक पात्रलाई बचाउन नै सकें। यो असफलताबाट, शून्यताबाट, महत्ताहीन अवस्थाबाट, स्वलाई बचाउने प्रयत्नमा एउटा भिषण यन्त्रणाबाट गुज्रिरहेको मष्तिष्कलाई केही त्राण दिनु थियो। केही सपनाहरु हुर्काएर, केही आशाहरु सँगालेर, केही जिजिविषा ब्युँताएर, चुनौतीहरुलाई सामना गर्ने अभिप्राय र अधिकरण दुवै प्राप्त गरें । थुप्रै पटक सम्झौताहरु गरेँ। तर त्यो व्यवस्था त्यति बलियो थिएन। मन एकातिर, मस्तिष्क अर्कोतिर। कमजोर जगमा बनेको त्यो व्यवस्था सानो धक्काले हल्लियो र त्यो पुरै मानस—स्वरुप भत्कियो। मस्तिष्कको त्यही विग्रहलाई मैले बहुलाएको भनें। त्यसलाई अरु कुनै सभ्य प्रकारको नाम दिन पनि सकिन्थ्यो। तर...
The Way I See the World