Skip to main content

एउटा बहुलाको डायरी

केशव सिग्देल
निवन्ध (साभार: कलाश्री २०७२)

डायरीः खण्ड—१
भूकम्प गयो। म बहुलाएँ। भूकम्प जानु र म बहुलाउनुका बीचमा खास त्यस्तो कुनै सम्बन्ध छैन। बस्, भूकम्पले मलाई आफू बहुलाएको बुझ्न सजिलो बनाइदियो, त्यत्ति हो। 

सद्दे छु भनेर अभिनय गर्दा गर्दै जीवनको एउटा लामो कालखण्ड गुज्रियो । तर दर्शकहरुलाई जुन पात्र बनेर देखाउन खोजेको थिएँ, न त्यो पात्रलाई सजिव तुल्याउन सकियो, न म आफू जे थिएँ त्यो वास्तविक पात्रलाई बचाउन नै सकें। यो असफलताबाट, शून्यताबाट, महत्ताहीन अवस्थाबाट, स्वलाई बचाउने प्रयत्नमा एउटा भिषण यन्त्रणाबाट गुज्रिरहेको मष्तिष्कलाई केही त्राण दिनु थियो। केही सपनाहरु हुर्काएर, केही आशाहरु सँगालेर, केही जिजिविषा ब्युँताएर, चुनौतीहरुलाई सामना गर्ने अभिप्राय र अधिकरण दुवै प्राप्त गरें । थुप्रै पटक सम्झौताहरु गरेँ।  तर त्यो व्यवस्था त्यति बलियो थिएन। मन एकातिर, मस्तिष्क अर्कोतिर। कमजोर जगमा बनेको त्यो व्यवस्था सानो धक्काले हल्लियो र त्यो पुरै मानस—स्वरुप भत्कियो। मस्तिष्कको त्यही विग्रहलाई मैले बहुलाएको भनें। त्यसलाई अरु कुनै सभ्य प्रकारको नाम दिन पनि सकिन्थ्यो। तर मैले अझै फेरी त्यसो गरिरहन आवश्यक ठानिन। 

मानिसहरुले भूकम्पको कुरा गरे, भूकम्पले मरेका मानिसहरुका संख्या टिभिमा स्क्रोल भइराखेको देखेर जिब्रो टोके । घाइतेहरु लिएर दौडिएका एम्बुलेन्सका साइरनहरु सुनेर सास रोके। घरहरु ढले, पाटी र मन्दिरहरु पनि ढले। कोमल हृदय भएका मानिसका मनहरु धुजा भएर लडे। तर मानिस भित्रका ति विकृत लोभ र तृष्णा कसैगरि ढलेनन्, झन अग्लिएर गए । धरहरा ढल्यो, सिहंदरबार ढल्यो, राज्यकोष खर्चिएर यसै साल बनेका संरचनाहरु गल्र्यामगुर्लुम भए । धन्य भगवान्, नत्र मलाई म बहुलाएको थाहा हुने थिएन । गोंगबु ढल्यो । तर सभ्यतालाई दागा धरेर चुल्याइएका विकृतिका स्तम्भहरु झन् अरर्रिएर उभिरहे । काभ्रेमा पनि गाउँवस्तीहरु ढले । तर आफ्नै स्वजनका किड्नी भारतीय बजारमा बेचेर सेकुवा खानेहरुका मति ढलेनन् । सिन्धुपाल्चोकको मानव वस्ती पनि ढल्यो । तर आफ्नै छोरी र बुहारी बेच्ने अपराधको कलिङ्ग ढलेन। त्यसपछि मलाई थाहा भयो म बहुलाएछु । 

टिभि, रेडियो र पत्रिकाभरि मानवीय संवेदनाले भरिएका समाचार र भावनहरु छन्। सामाजिक सञ्जाल पनि त्यस्तै पुनित कामका तस्विरले भरिएका छन्। बहुलाउने मतिले मेरा आखाँमा ति राम्रा पाठ र दृष्यहरुलाई आउनबाट सेन्सर गरिदियो । अनि मस्तिष्कमा आएका विम्बहरुले मलाई मानव समाज र सभ्यताको अर्कै तर भयानक रुप देखायो । दश रुपैँयाको अखाद्य चाउचाउ बाँड्न पचासौं हजार पर्ने क्यामेरा झुण्ड्याएर हिडेका मानिसहरुको लर्को मात्रै आँखामा घुमिरहन थाल्यो । सामाजिक सञ्जालमा विज्ञापन जस्ता भद्दा सेल्फीहरु मात्र अग्रभागमा आउन थाले । आँगन अगाडी गुडुल्किएर आएको ढुङ्गो कयौँ दिनसम्म नपन्छाई बसेका मानिसहरु पनि देँखे। यि सबै दृष्टि दोषका उपज हुन् । बहुलाएपछि जे देख्नु पर्छ त्यो देखिन्न, जे देख्नु हुन्नथ्यो, त्यही र तिनै दृष्यहरु आँखा अगाडि घुमिरहन्छन् । 

डायरीः खण्ड—२
भूकम्प र त्यसका प्रतिछाँयाहरु एउटा दुःस्वप्न जस्तो मात्र हुन गए । भूकम्पले मलाई बिना अभिप्राय र प्रयोजन गुज्रिएको समयको स्मरण गराइदियो । गुज्रियो भन्नु आफैंमा असन्तोषको, विस्मयको अभिव्यक्ति जस्तो लाग्छ । त्यो खण्ड जीवन कुनै स्मरणयोग्य घटना विना नै व्यतित भयो । इतिहासमा त्यो खण्डमा भएका उपक्रमहरु एक हिसाबले ‘अण्डर इरेजर’ भित्र परे। जीवनलाई चलचित्रसँग तुलना गर्नेहरुले त्यसलाई असफल ‘टेक’ मात्रै भन्न रुचाउलान् । खासमा छायाँङ्कन गरिएका दृष्यहरु जो सम्पादन प्रक्रियामा चलचित्रका अन्तिम सम्पादित स्वरुपका अंश बन्न सक्दैनन्, ति अंशहरुलाई प्राविधिक भाषामा ‘टेक’ भनिँदो रहेछ । यो जीवन अविछिन्न रुपमा रेकर्ड गरिएको असम्पादित टेप जस्तो छ । जीवनका भिन्न मोडहरुमा ति आफै सम्पादित भएर जाँदा रहेछन्। सम्पादित हुनु भनेको कुनै सिर्जनाको कलात्मक मूल्य बढाउनुसँग सम्बन्धित हुन्छ । तर हामिले त्यस प्रक्रियामा धेरै दृष्य वा पाठहरुलाई हटाएका हुन्छौं । मौलिकतालाई तोडमोड गरेका हुन्छौं । प्राकृतिक दृष्टिले त्यो झन् भद्दा र कुरुप पनि देखिन सक्छ होला । हामीले त्यसको सम्पूर्णतालाई विर्सिएर मानव निर्मित सांस्कृतिक मानकहरुका आधारमा त्यसको ‘एम्प्युटेसन’ गरिरहेका हुन्छौं । हुन त चलचित्र निर्माण प्रक्रियामा कथा लेख्ने, अभिनय गर्ने, त्यसको छाँयाङ्कन गर्ने र त्यसलाई अन्तिम सम्पादन गर्ने पात्रहरु फरक हुन्छन् । यिनिहरुबीच एक प्रकारको सामन्जस्यताको अपेक्षा गरिए पनि यो प्रक्रियामा सर्जक र सिर्जनाबीच केही ‘क्याल्कुलेटेड डिस्टेन्स’ हुन्छ । तर जीवनमा यी सबै चरणहरुमा झण्डै उही पात्र उपस्थित हुन्छ । त्यसैले जीवनको सम्पादन सजिलो छैन ।

जीवनलाई धेरैले नाटकसँग पनि तुलना गरेका छन्। तर नाटकमा जस्तो जीवनमा पूर्वनिर्धारित कथाविधानको सहुलियत हुँदो रहेनछ । आवश्यकता अनुसार अभिनय गर्दै गयो । परिस्थितिजनित पात्रहरु निर्मित हुँदै जाने । मान्छे आफैँ त्यो अधिरचनाको परिकल्पनाकार भएर पनि समयकालमा त्यसैको व्यहूमा फस्दै जाँदो रहेछ । त्यसैले मानिसले जतिसुकै लामो समय गुजारे पनि आफ्नो स्वभाव र सामथ्र्यलाई यथारुपमा बुझ्न नसक्ने रहेछ । त्यसका लागि भूईचालो नै चाहिने रहेछ। 

भौतिक इन्द्रियहरुले गोचर गरेका सत्यहरुका आधारमा हामीले आफू र संसारलाई बुझिरहेका हुने रहेछौं । त्यसैले जीवनलाई बुझ्ने हाम्रो आयाम बढी सापेक्षिक हुँदो रहेछ । गुज्रिएको त्यही समयलाई अभिलेखन गर्ने हो भने एउटा दारुण चित्र अगाडी आउँदो हो, केवल कल्पना गरिरहेछु अहिलेलाई । जीवनको आफ्नै लय बनिएको हुन्छ, स्मृति र विस्मृतिका सन्तुलन चक्रहरु पनि छन् । हामी त्यही सन्तुलन प्राप्त गर्न पुरापुर सामर्थ्य लगाइरहेछौं । तर, विस्मृतिमा, विघटनमा परेको असन्तुलनको अवस्था आफैंमा अपरिमेय शक्तिको स्रोत हो भन्ने कुरालाई भने हामीले हेक्का राख्न सकिरहेका छैनौं । 

समिकरणका विभिन्न पक्षहरुलाई सन्तुलन गराउनु भनेको एक किसिमले शक्तिलाई न्युट्रलाइज गर्नु अर्थात तटस्थ बनाउनु, निष्प्रभावी बनाउनु हो । त्यसैले असन्तुलन पनि आफैंमा एउटा महत्वपूर्ण परिघटना हो । यसले जीवनको गतिलाई अभ्यस्त नियमितताबाट हुत्याइदिन्छ र नयाँ हिसाबकिताब, नयाँ समिकरण र नयाँ सन्तुलन खोज्न बाध्य तुल्याइदिन्छ । कुनै न कुनै रुपमा यो असन्तुलन अगम्य र दुर्बोध्य हुँदै गएको अस्तित्वलाई महशुस गर्ने, बोध गर्ने र गतिशिल बनाउने शक्ति जस्तो देखिँदो रहेछ । 

अव्यवस्था र असन्तुलनको पक्षधरता लिनु जोखिमपूर्ण छनौट हो । यो एउटा असाधारण अवस्था हो । तर यो संक्रमण र क्रियाशिलताको आरम्भ हो । सन्तुलनका पक्षहरुमा पुनः शक्तिको सञ्चार भएको अथवा तटस्थताको विघटन भएको अवस्था हो । शक्ति बढ्नु आफैंमा सङ्कट हो । त्यसलाई ठीक तरिकाले व्यवस्थापन गरिएन भने, सतत् प्रवाहित हुने बाटो खोलिएन भने, त्यसले अनपेक्षित झट्का दिन्छ । त्यसले हल्लाउँछ मस्तिष्कलाई र चुडाउँछ विचारमण्डलको तार । मनमा धाजाँ फाट्छन्, र बहुलाउँछ मान्छे । 

गुज्रिएको जीवनको त्यो लामो खण्डमा आखिर यही बहुलाउनु नै एउटा महत्वपूर्ण घटना भइदिएर आउँछ । बहुलाउनु भनेको स्वतन्त्र चरित्रहरुलाई सम्झौतामा लानु नपर्ने मुक्त व्यवस्थातिरको यात्रा हो जस्तो भान भइरहेछ । यो ब्रम्हाण्डलाई हामी हाम्रो इन्द्रियको सहायताले बुझ्न सक्तैनौ भनेर केही चिन्तकहरुले एब्जर्डिटिको कुरा गरेका छन् । हामीले देख्ने र भोग्ने संसार सरल शुत्रमा बुझ्न सकिने खालको छैन । यो अबोधगम्यतामा हामी सधैं तर्कले बाँच्न सक्दैनौं । जब हामी तर्क र प्रमाणहरु बिना नै दुनियाँको रित भन्दा फरक किसिमले सत्यलाई अन्वेषण गर्ने, बुझ्ने र बताउने चेष्टा गर्छौं, त्यसपछि यो लोक दृष्टिमा हामी बहुला हुन्छौं । 

डायरीः खण्ड—३
भूईंचालो र मेरो बहुलठ्ठीपनाको अन्तरेमा पनि कुनै साइनो छ जस्तो मलाई लाग्दैन । तर यो कम्पनले एउटा नविन जीवन दृष्टि दिएको छ कि भन्ने अनुभूति भइरहेको छ । यो दृष्टि नै ठीक र अनुकरणीय छ भन्ने होइन । तर हाम्रो समाजको सांस्कृतिक विचलनलाई बुझ्न, मानवीय आयामका संकुचनहरुलाई महशुस गर्न, विकृत, अनुदार र संकिर्ण चिन्तनहरुको जालोबाट उक्लिएर आफैंलाई, समाजलाई र संसारलाई फरक तरिकाले हेर्नलाई यसले सहयोग पुरयाउँछ भन्ने लागिरहेछ। एउटा बहुलाको डायरीमा भूकम्पलाई सम्बोधन गरेर यस्तो लेखिएको छ—

प्रिय भुईंचालो
तिमी आयौ र हामीलाई निद«ाबाट ब्युझायौ
हरेक दिन घरमा नयाँ तला थप्ने महत्वाकांक्षाले
प्रेमका साना बँगैचाहरु सेपमा पर्दै थिए
शक्ति र वैभवको बग्गी चढेर
सडक किनारमा हिँडिरहेको प्लास्टिक चप्पललाई
शहरमा बन्देज गर्ने कानून पनि हामी नै तर्जुमा गरिरहेथ्यौं 
धेरै लामो निद्रामा थियौं हामी
मानौं अब यो मखमली ओछ्यानबाट कहिल्यै उठ्नु पर्ने छैन
मानौं अहम्ले भुक्क फुलेका फोक्सोहरुले फेरी सास लिनु पर्ने छैन 
तिमी आयौ र सपनामै
हल्लाइदियौ घमण्डको जग
भत्काइदियौ अंहकार
र, ब्युझाइदियौ हामीलाई नमिठो एउटा सपनाबाट । 

निद्राबाट ब्युझँदा
मैले ओत लिइरहेको छानो र पर्खाल दुवै थिएनन्, 
तर थिए एकएक ईटा सम्हालेर चाङ् लगाउँदै गरेका सहयोगी हातहरु
भक्कानो छुट्दा छातिबाट चुँडिन लागेको मुटुलाई
प्रेमले सम्हालेर राखिदिने हृदयहरु थिए
अनुमती बिनै ठड्याइएका घरका उचाईले
ओझेल परेका बँगैचाहरुबाट फैलिएको सुगन्ध
र, चराका गीतहरु थिए
निद्रामा टुटेका भ्वायलिनका तारहरु जोडिएर
कम्पोज हुँदै गरेका नयाँ भाकाहरु थिए
जीवनलाई उत्सवमय बनाउन 
कुचीले क्यानभास रङ्ग्याइरहेका कलाकारहरु थिए
सपनामा ऐंठनले निसास्एिका केटाकेटीका नाचहरु थिए ।

प्रिय भूईचालो,
तिमीसँग मेरो केही गुनासो छैन भन्ने होइन
तर अहिले तिमीलाई म धन्यवाद नै भन्छु
किनकी तिमीले निदाएका मानिसहरुलाई ब्युझायौ
र, बुझ्नलाई एउटा मौका दियौ—
यो माटोमा प्रेमको सुगन्ध अझै बाँकी छ भनेर ।



Comments

  1. I am completely mesmerised my friend. And I m remembering those days when I was sometimes privileged to be your first reader. I wish I would have been the first reader for this perfect piece of creation.wish you all the best . Great work.
    Sashi devkota

    ReplyDelete

Post a Comment

Popular posts from this blog

प्राज्ञहरु आफैं राजनैतिक नेतृत्वको दास हुने बाटो रोजेका छन्

केशव सिग्देलसँगको युगबाणी सम्बाद प्रकाशित मिति: २०७५ फागुन १८ नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ? नेपाली साहित्यको सिर्जनशिल फाँटले व्यापकता पाउँदै गएको छ। समाजको विकाससँगै जुन नयाँ मुद्दाहरु हामीले पाएका छौं, त्यसले विषयवस्तुको व्यापकतामात्रै बढेको छैन, नेपाली लेखकहरुको विश्वसाहित्यसँगको अन्तरक्रिया पनि बढेको छ। कम्तिमा हिन्दी र अङ्ग्रेजीमा उपलब्ध विदेशी साहित्यको अध्ययनले हाम्रो लेखनलाई विषय र प्रस्तुतीको हिसाबले अझ सम्मुनत पार्दै पनि लगेको छ। लैङ्गिक समानता, पहिचान, विज्ञानप्रविधिको प्रभावजस्ता विषयहरुले नै लेखनको संरचनामा नविनता माग गरिरहेका हुन्छन्। र सचेत ढङ्गले नयाँ पुस्ताकोको हस्तक्षेप बढेको छ।  पछिल्लो लेखनमा साधना कम भयो भन्ने आरोप पनि छ नि? त्यो स्वाभाविक छ। सबै लेखकहरु उत्तिकै गम्भिरतापूर्वक लेख्न सक्छन् भन्ने छ्रैन। सबै यसमा टिकिरहन्छन् भन्ने पनि छैन। अथवा टिकिरहे पनि राम्रा सिर्जना आइरहन्छन् भन्ने पनि होइन। तर साहित्यमा जुन सचेतताका साथ काम भइरहेको छ, त्यो सकारात्मक छ। साधना गर्नेहरुका सिर्जना दीर्घजिवी हुन्छन्। अरु केही समयपछि ह...

Men, Words and Metaphors: An Interview by Isha Gharti

Interview re-posted from   Fr ! day Bal Bahadur Thapa (Balu), Keshab Sigdel and Prakash Subedi, represent the Nepali poets/writers of the new generation. Over the last decade, in addition to their powerful writing, they have been very active in the literary scene. They have contributed to the theatre and film scenario and have been active through organizations such as Society of Nepalese Writers in English (NWEN), Literary Association of Nepal (LAN) and Devkota Study and Research Center (DSRC). Apt with skills, substance and a will to contribute to national literature, they are a strong force to be reckoned with. Steadily gaining national and international recognition, they are slowly changing the scene of English writing in Nepal. What made you get into literature? Bal Bahadur: “I used to read a lot when I was young, everything from Hindi comics, like Bankelal to Prakash Kobit to Thomas Hardy, which is what inspired me to write, though I only started writing afte...

Earthquake

by KESHAB SIGDEL The ground beneath the feet shakes Windowpanes swing with dooming creaks And where I live soon turns into a dancing house Before I connect any of these episodes of a                  rallying terror! Is it the life we love? Is it the death we fear? Sorry, it’s not the time to contemplate; But I see my dear ones run even when I am here Lovers, friends, parents and everyone who can They run and jump, and stroll and creep To make a sense of their being Through the last long breath they inhale.  I am stranded here in the crumbles of the razed house I’m no more a lover or a friend, but a sufferer. Sanity is a word of mockery — Vanity is not yet thought of — It doesn't matter if I want to go to them Or if they want to come to me in a new incarnation With a rescue plan, with cheer groups around, And the flashes and the annoying selfie-shutters.   Thanks God, I got to see the...