Skip to main content

अन्तर्वाता


केशव सिग्देलसँगको अन्तरङ्ग भलाकुसारी
अन्तरङ्ग राष्ट्रिय साप्ताहिकका लागि नवराज पहाडीले गरेको कुराकानी
(अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको वर्ष– २१, अक– २० मा ०६९ माघ ११ गते प्रकाशित ।)

अन्तरङ्ग– हिजोआज साहित्यका के कस्ता काममा व्यस्त हुनुहुन्छ ?
सिग्देल– पढाउने काम नित्य चलिरहेको छ । त्यसपछिको समय साहित्यिक संस्थाहरुको क्रियाकलापहरुलाई खर्चने गरेको छु । बेलुका वा फुर्सद भएको अन्य समयमा लेख्ने समय निकाल्छु । अहिले म मेरा केही साथीहरुसंग मिलेर नेपाली कविताको अंग्रेजी अनुवाद पनि गरिरहेको छु । साहित्यिक पत्रिका सम्पादनको काम पनि सगँसगँै चलिरहेको हुन्छ । राजनीतिक परिवर्तनपछि पनि नागरिक अधिकार सुनिश्चित हुन नसकेको अवस्था छ । दण्डहीनतालाई राज्यले आफैं प्रस्रय दिइरहेको अवस्था छ । सचेत नागरिकको रुपमा चुपचाप बस्न नसकिँदोरहेछ । मानवअधिकार सम्बन्धि धर्ना जुलुसहरुमा पनि सहभागी भइरहन्छु । धेरैतिरको संलग्नताले मेरो अध्ययन र लेखनलाई वाधा पुगेको छ भन्ने लागेर हिजो आज केही जिम्मेवारीहरुबाट मुक्त हुने प्रयास गरिरहेको छु । व्यक्तिगत सन्तुष्टि या सामाजिक उत्तरदायित्व के प्राथमिक कुरा हो भन्ने द्विविधामा म अल्झेको छु ।

अन्तरङ्ग– यहाँले साहित्य क्षेत्र रोज्नुको कारण ? अनि, कलम चल्ने विधाहरु के के हुन् ?
सिग्देल– हरेक मानिसमा विचारको हुण्डरी चलिनैरहेको हुन्छ । ती सकारात्मक र सिर्जनात्मक पनि हुन सक्छन् वा नकारात्मक र ध्वसात्मक पनि हुन सक्छन् । तिनिहरु कुनै न कुनै माध्यमबाट अभिव्यक्त हुन खोज्छन् । हामी सपनाका माध्यमबाट तिनीहरुलाई अभिव्यक्त गर्छौ वा चित्रकला वा साहित्य सिर्जना गरेर त्यसलाई प्रकट गर्छां । त्यसले व्यक्तिलाई मनोवैज्ञानिक रुपमा सन्तुलित मात्र गर्दैन सिङ्गै सभ्यताको विकासमा योगदान गर्छ । त्यसरी शालिन अभिव्यक्तिको शिल्प वा वातावरण पाउन नसक्नेहरु त्यसको कुरप अभिव्यक्ति गर्छन र सामाजिक वेथेतिमा योगदान गर्छन् । 
मेरा लागि साहित्य अभिव्यक्तिको सहज माध्यम हो । सामाजिक जटिलताभित्र पस्दै जाँदा उद्मा रुपमा अभिव्यक्ति दिने अन्य अवसरहरु खुम्चिदै गए । त्यसैले पनि साहित्य झन् अभिव्यक्तिको टड्कारो माध्यम बन्न पुग्यो । मूलतः म कविता पढ्न र लेख्न रुचाउँछु । र निबन्धहरुमा मेरो उत्तिकै रुचि छ । रमाइलो के भयो भने, पाठक संख्याको हिसाबले संसारमै सबैभन्दा बढी पढिने कथा र उपन्यासमा मेरो तुलनात्मक कम रुची छ । फुटकर कथाहरु लेखेको त छु । तर केही छानिएका बाहेकका आख्यानहरु पढ्ने धैर्यता बटुल्न पनि मलाई गाह्रो पर्छ । बरु नाटकमा केही रुचि छ । 


अन्तरङ्ग– यहाँ त विभिन्न साहित्यिक संस्थामा पनि संलग्न हुनुहुन्छ, संस्था सञ्चालन र लेखन त फरक विषय हो नि ! त्यसको सन्तुलन यहाँले के कसरी मिलाउनु भएको छ ?
सिग्देल– हो, धेरैतिर संलग्न छु । ओभर वर्क गर्नुको विकल्प छैन । सबै चाँजोपाँजो मिलाउन व्यक्तिगत समय भनेर मिल्दैन । यसले फाइदा पनि भयो, वेफाइदा पनि भयो । फाइदा चाहिँ संस्थागत रmपमा साहित्यक कार्यक्रम, सभा सम्मेलन, प्रकाशनका महत्वपूर्ण कामहरु कहि सुरु गरियो, कहिँ निरन्तरता दिइयो । काम गरेको हिसाबले मानिसहरुले चिने । तर वेफाइदा के भयो भने लेख्ने पढ्ने समय रहेन । लेख्ने मान्छे हुँदै जाँदा इभेन्ट म्यानेजर जस्तो मात्र हुने स्थिति आयो । परिवारसँग विताउनलाई त समय निस्किने कुरै भएन । तर आफैंलाई लेख्ने पढ्ने समयको हिसाबले अब प्रत्यक्ष संलग्नताहरुलाई अलि कम गर्ने भन्ने सोचिरहेको छु । किनकी लेखिएन भने त अरु त सबै मिथ्या नै हुन जान्छ । 

अन्तरङ्ग– यहाँले अक्षरको खेती कहिलेदेखि सुरु गर्नु भएको हो ? उल्लेखनीय संयोग केही छ कि ?
सिग्देल– तीन चार कक्षा पढ्दा ताकै कविता लेख्ने गरिएको हो । तर ती विद्यालयका कार्यक्रमहरmमा पढ्न वा गृहकार्यका रुपमा लेखिएका हुन्थे । खासगरि २०४५–४६ साल तिर प्रजातान्त्रिक आन्दोलनका लागि प्रतिबन्धित अवस्थामै राजनितिक नेता कार्यकर्ताहरुको भेला हाम्रो घरमा भइरहन्थ्यो । त्यसताका भारतको देहरदुन र बरेलीमा पढ्ने छात्र संगठनहरुले आफ्नो मुखपत्रमा राजनैतिक साहित्यिक लेख रचनाहरु छाप्दथे । त्यही मेसोमा त्यस समय बरेलीमा रहनुभएका दाङका मेदिनीकुमार केवलले मेरो ‘आमा’ शिर्षकको कविता लगेर छपाउनु भएको जस्तो लाग्छ । यकिन सम्झना छैन । जनआन्दोलनपछि स्थानीयस्तरमा राजनैतिक विचारहरु समेटिएका पत्रिका प्रकाशन सम्पादन गर्न लागियो र राजनैतिक चेत भएका कविताहरु लेख्न थालियो । पछि लेखिएका कविताहरुमा स्वाभाविक रुपमा शिल्प, शैली र विषयहरु पनि फेरिदैं गए । 

अन्तरङ्ग– यहाँले किन र केका लागि लेख्नु हुन्छ ?
सिग्देल– मूलतः स्वअभिव्यक्तिका लागि लेख्छु । तर लेखिएको कुरा छापिएर बाहिर आएपछि त्यसले फरक आयाम लिदोँ रहेछ । 

अन्तरङ्ग– यहाँ त अनुवाद साहित्यमा विशेष रुचि भएको देखिन्छ यसको कारण, आवश्यकता र औचित्य के कसरी सिद्ध गर्नु हुन्छ ?
सिग्देल– विश्वमण्डलीकरणको प्रभावले हामी बसेको समाज खुम्चिदै गइरहेको बेला फरक भाषा संस्कृतिका मानिसहरुसंग हाम्रो सहवास बढिरहेको छ । त्यसैले फरकपनलाई सम्मान गर्न सक्ने वातावरण पनि चाहिएको छ । त्यसका लागि साहित्यिक अनुवाद मार्फत सांस्कृतिक आदानप्रदान गर्न सकिन्छ भन्ने लाग्छ । फेरी साहित्य सिर्जनाका विषय त आम रुपमा मानवीय रुचि र समवेदनाकै विषय हुने भएकाले सकेसम्म धेरै पाठकहरुले त्यसको लाभ लिन सकुन् भनेर पनि अनुवाद गरिन्छ । 


अन्तरङ्ग– अनुवाद गर्दा खास गरी एउटा भाषाको भावको मूल मर्मलाई आत्मसात गरेर अर्को भाषामा त्यसरी प्रस्तुत गर्नु निकै कठिन काम हो भनिन्छ, यहाँका अनुभवहरु के कस्ता छन् ? 
सिग्देल– वास्तवमा त्यो चुनौती छ । भाषा र संस्कृतिका आ–आफ्नै विशिष्टताहरु हुन्छन् जुन कतिपय अवस्थामा एक भाषिक सांस्कृतिक स्वरुपबाट अर्कोमा उस्तै रुपमा लान सकिन्न । त्यसो भनेर अनुवाद गर्न त छाड्नु भएन नि .

अन्तरङ्ग– यहाँको विभिन्न देशहरुमा साहित्यिक भ्रमण पनि गर्नु भएको छ, ती देशको साहित्य र नेपालको साहित्यमा के कस्तो समानता र भिन्नता अनुभव गर्नुभएको छ ?
सिग्देल– म त धेरै हदमा समानता देख्छु । के अर्थमा भने जहाँ लेखिए पनि ति मानवीय व्यवहार र अनुभवहरुका बारेमा नै लेखिएका  हुन्छन् । मानवीय समवेदना र रुचिलाई पक्रेका हुन्छन् । भाषा र शैलीको भिन्नता त स्वाभाविक हो । हाम्रो देशमा लेख्ने लेखकहरुको पनि प्रत्येकको आफ्नै शैली छ । त्यसैले पनि मलाई साहित्य अभिव्यक्तिको विश्वव्यापी माध्यम हो जस्तो लाग्छ । र अघि भने जस्तो अनुवादको महत्व पनि यसै कारणले हुन्छ । 

अन्तरङ्ग– निरन्तरताको उर्जा के कसरी प्राप्त गर्नु भएको छ ?
सिग्देल– पढ्ने र पढाउने हिसाबले पनि साहित्य नित्य कर्म बन्यो । त्यसमाथि स्वअभिव्यक्तिको यो भन्दा अर्को राम्रो उपाय मसँग उपलब्ध छैन । लेख्नु रुचीबाट वाध्यता बन्दै गएको छ । 

अन्तरङ्ग– साहित्यको क्षेत्रमा लागेर के के प्राप्त गर्नु भएको छ ?
सिग्देल– वास्वमा कुनै चिज प्राप्त गर्न म यसमा लागेको थिइन । र मैले उल्लेखनिय केही गरेको छु भन्ने पनि मलाई लाग्दैन । त्यसैले प्राप्तिको कुरा गर्नु पनि म उचित देख्दिन । तर अवश्य लेखेपछि एक प्रकारको सन्तुष्टि यसले दिन्छ । अलि अलि पाठक कमाएको छु । तर अरुले चिन्नु त्यति महत्वपूर्ण होइन जति लेख्नु महत्वपूर्ण छ । 

अन्तरङ्ग– यहाँले मानवअधिकारको क्षेत्रमा पनि राम्रो अनुभव हासिल गर्नु भएको छ, यहाँको दृष्टिमा नेपालको मानव अधिकारको अवस्था कस्तो देख्नुहुन्छ ?
सिग्देल– मैले शुरुमा पनि भनि सकेँ नि निरकुंशकालमा भन्दा पनि अहिले राज्य बढी अनुदार हुँदै गएको छ । डरलाग्दो कुरा के छ भने राज्यका तर्फबाट नै दण्डहीनतालाई प्रस्रय दिने र मानवअधिकार उल्लघंनमा अदालतबाट अपराधी ठहर भइसकेकाहरुलाई संरक्षण दिने र अपराधीहरुको मुद्दा फिर्ता लिने काम भएको छ । लोकतान्त्रिक गणतन्त्रको नाममा यो भन्दा भद्दा मजाक अरु केही हुन सक्दैन । 

अन्तरङ्ग– २०६२।६३ को आन्दोलन हाक्ने नेताहरुले अब फेरि लोकतन्त्रको लागि लड्नुपर्ने छैन भनेको सुनिन्थ्यो तर त्यो आन्दोलन सफल भएको यतिका वर्ष वित्दा लोकतन्त्रको अबस्था कस्तो देख्नुहुन्छ ?
सिग्देल– जबसम्म राजनीति जनताप्रति उत्तरदायि हुँदैन, तबसम्म त्यो लोकतन्त्र हुनै सक्दैन । अहिलेका राज्य हाँक्नेहरुले बाइसे चौविसे राज्यका रजौटा जस्तो व्यवहार गरिरहेका छन् । आफू कसरी टिक्ने भन्ने मात्र सोच छ । राजनीति र राज्यसत्ता हिंसाको आडमा चलेको छ । हिंसाको राजनिति रहिरहेसम्म लोकतन्त्र सम्भव छैन । नाम ले त पुग्दैन नि । विष्टाको नाम फेरेर श्रीखण्ड राख्दैमा के त्यसबाट सुगन्ध आउन थाल्छ र ?

अन्तरङ्ग– नेपालमा लोकतन्त्रले स्थायित्व पाउन नसक्नुमा मुलतः कसलाई दोषी देख्नुहुन्छ ? 
सिग्देल– दोषी किटान गर्नुभन्दा पनि म हाम्रो मानसिकता जिम्मेवार देख्छु । किनकी हामी हिंसाको विरोध गर्न सक्दैनौ । बरु आफ्नो विवेकलाई बन्दुकसँग वन्धक राखेर कुनै लाभको पदतिर आखाँ लगाउँछौ । अर्कोकुरा शिक्षाको कमी पनि जिम्मेवार छ, भोक र गरिबी झन जिम्मेवार छ । भरेको छाक टार्न लुच्चाहरुको कुरा पनि हो कि क्या हो भनेर पछाडी लाग्नु पर्ने अवस्थामा धेरै नेपाली छन् । तर राजनीतिक दल नेपालीहरुलाई अझै हजारौ वर्ष नांगै र भोकै राखेर उनीहरुको जुलुसको पछि लाग्न विवश पार्न चाहान्छन् । विडम्बना यहाँ पो छ । 

अन्तरङ्ग– नेपाली साहित्यमा राजनीति र धर्मले के कस्तो प्रभाव पारेको अनुभव गर्नु भएको छ ? 
सिग्देल– राजनीति र धर्म आम मानसिहरुको भोगाइलाई प्रत्यक्ष असर गरिरहेको हुन्छ । अनि ति विषय त साहित्य रचनाका प्रधान विषय भएर आइदिन्छन् । 

अन्तरङ्ग– साहित्य त आफैमा गतिशील, प्रगतिशील हुन्छ, तर केही साहित्यकारले यसलाई ‘प्रगतिशील’ नै भनेर थप परिभाषित गर्नु भएको देखिन्छ । यो कति उचित होला ? 
सिग्देल– विश्व साहित्य जगतमै यो वहस छँदैछ । कलाका लागि कला भन्ने एकथरी मान्यता राख्नेहरु छन् भने समाजका लागि साहित्य भन्नेहरु पनि छन् । साहित्य अधोगामी हुन्छ भन्ने मलाई लाग्दैन । त्यसमा जीवन जगतका भोगाइहरु नै अभिव्यक्त भएका हुन्छन् । साहित्यकारले एउटा राजनीतिज्ञ जस्तो काम गर्नुपर्छ भन्ने मान्यतामा पनि सहमत हुन सकिन्न । नत्र नारा र कवितामा फरक हुँदैन । साहित्यले युगको सभ्यता निर्माणमा योगदान गरिरहेको हुन्छ । आक्रोशलाई गतिशीलता मान्नुलाई म दोष मान्छु ।  

अन्तरङ्ग– कस्तो सिर्जना उत्कृष्ठ हुन्छ भन्ने लाग्छ यहाँलाई ?
सिग्देल– जसले मानवीय समवेदनालाई छुन सक्छ ।

अन्तरङ्ग– यहाँले आफ्नो सबल र कमजोर पक्ष के के देख्नु भएको छ ?
सिग्देल– आत्ममूल्यांकनको विषय कठिन छ । यो विषय पाठकहरुलाई नै छाड्नु बुद्धिमानी हुन्छ जस्तो लाग्छ । तर म जनजीविका र आमपरिवेशका बारेमा बढि लेख्छु । शैलीगत क्लिस्टताको आरोप मलाई छ ।

अन्तरङ्ग– यहाँको सिर्जना गर्ने खास समय छ कि ? कस्तो समय सिर्जनाका लागि उपयुक्त ठान्नु हुन्छ ?
सिग्देल– त्यस्तो खास समय छैन । प्राय एकान्त भएको बेला लेख्न रुचाउँछु । तर त्यो दुर्लभ हुँदै गएको छ । हिजो आज टेम्पो बसिरहँदा पनि विचारहरु आउँछन, त्यसलाई कागजको टुक्रामा वा मोवाइलको मेसेज बक्समा टाइप गरेर राख्छु । कहिले एकै दिनमा पाँच सातबटा कविता लेख्छु, कहिले महिनांै दिनसम्म लेखिन्न । तर त्यो वीचको समयमा पुराना लेखेका वस्तुलाई पुनर्लेखन गर्ने काम गर्छु । मेरा लागि यो महत्वपूर्ण काम हो । 

अन्तरङ्ग– साहित्य बिनाको जीवन कस्तो हुन्छ होला ?
सिग्देल– अब यो अनुमानको विषय मात्र रह्यो । निरश र पट्यारिलो हुन्थ्यो कि? 

अन्तरङ्ग– नेपाली साहित्यको कमजोर पक्ष के के देख्नु हुन्छ ?
सिग्देल– राम्रा लेखक र कृतिहरु छन् । तर राजनीतिक नारा लेख्नेहरुले हालीमुहाली गरेका छन् । साहित्य विज्ञापनमा आधारित छ । समालोचकीय परम्परा कमजोर भएकाले यस्तो स्थिति आएको हो कि भन्ने लाग्छ । सानो ठाउँ छ । सबैले सबैलाई चिन्छन् । किन अर्काको मन दुखाऊँ भनेर निकृष्ट र उत्कृष्टको भेद छुट्टिन सकेको छैन । विश्वविद्यालयका प्रध्यापक र कहलिएका समालोचकहरुले पनि समालोचनाको धर्म निर्वाह गरेका छैनन । मानिसहरुले लेख्दै जाउन भनेर उत्साहित गर्न पनि प्रशंसाको खाँचो पर्छ होला । तर समालोचना प्रशंसामा सिमित हुनु त भएन नि ।

अन्तरङ्ग– यहाँ कत्तिको डरपोक हुनुहुन्छ ?
सिग्देल– मलाई आफैँसँग भयङ्कर डर लाग्छ । वर्तमानसँग पनि अलिकति डराउँछु । मलाई अरुसँग डर लाग्दैन । तानाशाहका अगाडि सबैभन्दा निडर छु जस्तो लाग्छ । मलाई भविष्यसँग पनि डर लाग्दैन । 

अन्तरङ्ग– यहाँ जीवनमा यश, मृत्यु, आलोचना, सिर्जना, यौवन, तरुनी, पैसा, मदिरामध्ये क– कस्को बढी डर लाग्छ र किन ?
सिग्देल– मृत्यु, आलोचन, सिर्जना, यौवन र तरुनीलाई त प्रेम गरेको छु । डराउने कुरै भएन । पैसा आउने भन्दा जाने बाटा मैले धेरै जानेको छु । त्यसैले पैसाले पनि मलाई दास बनाउला भन्ने डर मलाई छैन । तर यशसँग एक प्रकारको डर छ । कतै घमण्डी बनाउला कि भनेर । 

अन्तरङ्ग– उसोभए, कुन प्यासले यहाँलाई बढी सताउँछ ?
सिग्देल– सिर्जनाको प्यास । 

अन्तरङ्ग– छन्द (शास्त्रीय) जसलाई नेपाली साहित्यको सगरमाथा भनिन्छ तर यहाँसहितका नयाँपुस्ताका स्रष्टाहरुले त्यो सगरमाथातर्फ सयर गर्न रुचाउनु भएको देखिदैन यसको कारण के होला ?
सिग्देल– व्यक्तिगत रुची र शिल्पको कुरा पनि हो । वास्तवमा अपवाद मूर्धन्य साहित्यकार बाहेक आम प्रयोग हेर्दा छन्दका लागि विषयवस्तुको भावमा सम्झौता गरिएको देखियो । लेखनाथ, देवकोटा र समजीहरुमा त्यो विशिष्ट क्षमता थियो । अहिलेका पुस्ताहरुले पनि त्यो प्रयास गरिरहेकाछन् । तर भावको कमजोरीलाई लय वा स्वरले जित्ने प्रयास गरेर छन्दलाई बचाउन खोजेको देखियो । लेख्दै जाँदा परिष्कृत हुँदै जाला । तर मेरो रुचि बढी गद्य शैलीमा नै रह्यो । पद्य मेरो कमजोरी नै हो भने पनि हुन्छ । 

अन्तरङ्ग– छन्दको मूल त संस्कृत भाषा हो, पछिल्लो पुस्तालाई त्यो भाषा पढ्ने मौका दिइएन, त्यसैले पनि नयाँ पुस्ताले छन्द जस्तो गहन कला एवं सिर्जनातर्फ लाग्ने मौका नपाएको त होइन ? यहाँको दृष्टिकोण र अनुभव ?
सिग्देल– यसमा आशिंक सत्यता छ । भाषा र संस्कृतिको अधिकारको कुरा उठिरहेको बेला, भाषाको संरक्षणको कुरा उठिरहेको बेला, सभ्यताका विरोधीहरुले विश्वकै धनी वाङ्मयको रुपमा संस्कृत भाषा र साहित्यलाई समाप्त पार्ने काम गरे । सबैले संस्कृत पढ्नु पर्छ भन्ने होइन । तर निश्चित रुपमा त्यो महान वाङ्मयको विरासत हामीले गुमायौं, यो दुर्भाग्य भयो । 

अन्तरङ्ग– नेपालमा राम्रोसँग अघि बढेको साहित्यिक विधा र भविष्य समेत आशा गर्न लायकका विधाहरु के के देख्नु भएको छ र त्यसको आधार केलाई मान्नु हुन्छ ?
सिग्देल– राम्रो केलाई भन्ने र कल्ले भन्ने प्रश्न छ । मैले राम्रा मानेका पुस्तकहरुले साझा वा मदन पुरस्कार पाएनन् । यो गाह्रो कुरा छ । पाठक बढी भएका किताबहरुलाई राम्रो मान्ने एउटा आधार हो । तर रङ्गिन कलेवरमा विज्ञापन गरिएकाहरु वा चिनजानमा रहेका प्राध्यापक÷ समालोचकहरुले राम्रो भनिदिएका आधारमा किताब विक्रि हुने अवस्था पनि छ । नेपालमा पुरस्कार भागवण्डा या पैंचो जस्तो छ । तर यसबाट मैले निराशाको संकेत गरेको होइन । सबै खाले विधामा राम्रा कृतिहरु आएका छन् । पछिल्लो समयमा पाठक संख्या र विक्रिका हिसाबले उपन्यास लेखनको लहर चलेको छ । 

अन्तरङ्ग– साहित्य तथा कवितालाई कसरी परिभाषित गर्नु हुन्छ ?
सिग्देल– कविता एक प्रकारको स्वको खोजी हो । त्यो खोजीले आत्मप्रकाशित गर्न पनि सक्छ वा खोज्दा खोज्दै आफैँ हराउन पनि सकिन्छ । 

अन्तरङ्ग– कविता सर्वाधिक लेखिने र सबैभन्दा कम पढिने विधा हो भनिन्छ, यहाँको अनुभव ?
सिग्देल– संसारका अन्य भागहरुको अनुभव जस्तै यहाँ पनि कविता धेरै लेखिने र कम बिक्ने विधा हो । तर मेरो विचारमा असल कविता सबैभन्दा बढि गाह्रो छ । 

अन्तरङ्ग– नेपाली साहित्यको विकासक्रमलाई यहाँले कसरी हेर्नु भएको छ ?
सिग्देल– समकालिन नेपाली साहित्य विषयवस्तु, शैली र प्रयोगको हिसाबले फराकिलो हुँदै गएको छ । यो सुखद कुरा हो । तर लेखन विशुद्ध लेखनका लागि नभएर सामाजिक प्रतिष्ठा वा नामका लागि बढी भए जस्तो देखिँदैछ । यसले गर्दा लेखनले त्यो शास्त्रीय गहिराइ गुमाएर बढी सतही भयो कि भन्ने छ । 

अन्तरङ्ग– साहित्यकारको संख्यामा जे जसरी बृद्धि भएको छ, त्यो तुलनामा स्तर उठेन भन्ने सुनिन्छ । संंख्या बृद्धि हुँदा त स्तर झन् उठ्नु पर्ने होइन र ? त्यस्तो नहुनुका खास खास कारण के के देख्नुहुन्छ ?
सिग्देल– त्यो जरुरी छैन । संख्या र गुण फरक कुरा हुन् । तर धेरैले रहर गर्दा त्यसबाट राम्रा प्रतिभाहरु पनि जन्मिन्छन् भन्ने आशा गर्नु स्वाभाविक छ । गुण नआउनुको पछाडि सिर्जना भन्दा पनि सिर्जनासँग जोडिएका सामाजिक मान पुरस्कारहरुलाई बढी महत्व दिइने चलन पनि जिम्मेवार छ । 

अन्तरङ्ग– साहित्यको विकासकै कुरा गर्दा राज्यको भूमिका के कस्तो देख्नु हुन्छ ?
सिग्देल– राज्य कुनै भूमिका लिने अवस्थामा छैन । भएका संरचनाहरु पनि भत्काएर भताभुङ्ग पारेको छ । खासमा राज्यको भूमिका त अत्यन्त महत्वपूर्ण हुनुपथ्र्यो । लेखक कलाकारहरलाई वेश्याको दर्जामा राखेका छन्, जुलुसमा हिड्ने कार्यकर्तालाई मनोरञ्जन दिने साधन ।

अन्तरङ्ग– प्रज्ञा प्रतिष्ठानका गतिविधिलाई के कसरी हेर्नु भएको छ ?
सिग्देल– राजनीतिक भागवण्डाको शिकार भएको छ । प्राज्ञको ठाउँमा कार्यकर्ता गएपछि यो भएन त्यो भएन भनेर भन्नु त मेरै मूर्खता हुन जान्छ । केही मानिसहरmले जागिर पाएका छन्, बरोजगारीमा परेकाहरुले रोजगार पाएका छन् भने नराम्रो नै त के भयो र ? 

अन्तरङ्ग– प्रज्ञा प्रतिष्ठानका कुलपतिदेखि प्राज्ञहरु सबै निर्वाचनबाट आउनु पर्छ भन्ने आवाज पनि उठ्न थालिएको छ, यहाँलाई के लाग्छ ?
सिग्देल– निर्वाचन नै नभए पनि त्यसको एउटा प्रष्ट आधार र प्रक्रिया हुनु प¥यो । 

अन्तरङ्ग– हिजोआज नेपाली भाषा त हो जस्तो तौर तरिकाले लेखे पनि हुन्छ व्याकरणीय शुद्धता जरुरी छैन भन्न थालिएको छ, यहाँको दृष्टिकोण ?
सिग्देल– यो विडम्बना हो । हेर्नुस संसारको सबै सभ्य र विकसित भाषाहरुको एउटा सर्वमान्य नियम छ । अंग्रेजीकै कुरा लिउँ । संसारका अनेक भागमा अनेक थरीका अंग्रेजी बोलिन्छन् । तर स्ट्याण्डर्ड (मानक) अंग्रेजी त एउटै छ । मानक नेपाली पनि एउटै मात्र हुनुपर्छ । त्यसका भेराइटीहरु त जति पनि हुन सक्छन् । तर जवरजस्ती भाषालाई तोरमरोड गर्नु त भएन नि ।

अन्तरङ्ग– सुत्र त दुइटा हुँदैन नि । त्यस्तै नेपाली भाषा साहित्यको विकासका लागि एकै खालको लेखन पद्दति अर्थात सुत्र हुनु पर्ने होइन ? यसका लागि यहाँले पनि पहल गर्नु भएको छ कि ?
सिग्देल– मानक एउटै हुनुपर्छ । तर मपाईत्व छ नि, त्यसले गडबड पारेको छ । ठूलो अविष्कार गरेको देखाउनु छ । म एक्लै  गर्न सक्ने त धेरै केही छैन । सार्वजनिक रुपमा आफ्नो भनाई राख्न सक्छु । तर विश्वविद्यालयका नेपाली भाषाका विषयगत समिति वा प्रज्ञा प्रतिष्ठानले यसमा संस्थागत रुपमा सोच्नु पर्छ । समस्या त्यही हो, त्यहाँ विशेषज्ञ गएको भए सोच्थे पनि होला । सिफारिशमा गएका कार्यकर्ताबाट के आशा गर्ने ?

अन्तरङ्ग– गतवर्षदेखि त गाविसले समेत खेलकुदका क्षेत्रमा निश्चित बजेट खर्चनु पर्ने बजेट वक्तव्यमा नै भनियो । यसरी साहित्य क्षेत्रमा पनि सरकारको तल्लो नियकादेखिनै महत्व दिने दिन कहिले आउँछ भन्ने ठान्नु हुन्छ ? 
सिग्देल– बन्दुक माथि विचार जहिले हावी हुन सक्छ, त्यतिखेर मात्र यो कल्पना गर्न सकिन्छ । तर म हरेक कुनाबाट बन्दुकहरु विचारमाथि जाइलाग्न तयार भएर बसिरहेको देखिरहेछु । 

अन्तरङ्ग– स्रष्टाहरुका सिर्जनाले प्रायः राज्यमा सुशासन, समाजमा नैतिक अनुशासनका लागि आवाज उठाइरहेका हुन्छन्। साहित्यको श्रीबृद्धिका लागि केन्द्रीय सरकार, स्थानीय सरकार र निजी क्षेत्रले बजेट कार्यक्रम नदिने र उपेक्षाको व्यवहार गर्नुले उनीहरु मुलुकमा सुशासन एवं समाजमा नैतिक अनुशासन चाहँदैनन् भन्ने पुष्टि हुँदैन ?
सिग्देल– त्यो निष्कर्षमा अहिले नै नपुगौं । तर जे जस्तो राजनीति र सरकार अहिले छ, त्यो यसप्रति सवेंदनशील छैन । पछि अवस्था फेरिन पनि सक्ला । 

अन्तरङ्ग– अहिले लोकतन्त्र, गणतन्त्र भनिन्छ, यो बेलामा पनि साहित्य क्षेत्र उपेक्षित रहने हो भने साहित्यको विकास गर्न अनि स्रष्टाहरुले सम्मानित हुन अर्कै तन्त्र ल्याउनु पर्नेे हो कि ? यहाँको धारणा ?
सिग्देल– विधिको शासन कायम भयो भने यी सबै हल हुन्छन् । अमूक नामको तन्त्रले केही गर्दैन । तर यहाँ विधि, नियम, कानून मिचेर काम भइरहेको छ । वन्दुकको अहंकारले कसैप्रति जवाफदेहि हुनुनपर्ने भएको छ । सरकारलाई जनताप्रति जवाफदेही बनाउनु हाम्रो चुनौती छ । 

अन्तरङ्ग– हिजोआज स्रष्टाहरुको कलमले राष्ट्रिय मुद्दालाई प्राथमिकता दिन छोडे जस्तो छ, यहाँको दृष्टिकोण ?
सिग्देल– त्यो कुरामा म सहमत छैन । किनकी लेखक आफ्नो भोगाइ र अनुभवबाट टाढा गएर अन्य ग्रहका जीवनका काल्पनिक कुरा गरेर बसिरहन सक्दैन । प्रस्तुतीको शैलीमा विविधता त हुने नै भयो । 

अन्तरङ्ग– हिजो ०३६, ०४६, ०६२÷६३ मा स्रष्टाहरु सडकमा ओर्लिएका थिए । मुलुकको अवस्था त ती वर्षको भन्दा पनि नाजुक देखिन्छ । महंगी, असुरक्षा, अन्योल उत्तिकै बढेको छ । यस्तो बेलामा सष्टाहरुले सडक तताउनु पर्नेमा रमिते भएको देखिन्छ नि ?
सिग्देल– सबै काम स्रष्टाले गर्नु पर्ने भए त सरकार, प्रहरी, प्रशासन, दल आदि नै किन चाहिन्थ्यो र ? सबैले आआफ्नो ठाउँबाट भूमिका नगरेकाले समस्या आएको हो । स्रष्टाको काम त सिर्जना पो हो त । तर उनीहरु पनि यही समाजका वासिन्दा भएकाले उनीहरmको पनि चासो सार्वजनिक रुपमा बाहिर आओस् भन्ने सोच्नु चाहिँ स्वाभाविक हो । 

अन्तरङ्ग– यौटा फरक प्रश्न गरुँ, यहाँको अनुभवमा जीवन के हो र कस्तो जीवनलाई सफल मान्नु हुन्छ ?  
सिग्देल– जीवन यात्रा हो । तर यात्राको अवधी र उदेश्य यसको यात्रीलाई स्वयम थाहा हुँदैन । त्यो थाहा पाउनु नै जीवनको सार्थकता हो । 

अन्तरङ्ग– अन्त्यमा, छुटेको केही थप्न चाहनु हुन्छ कि ?
सिग्देल– वहसको अन्त्य छ जस्तो त लाग्दैन । आफ्ना भनाई राख्ने अवसर दिनुभएकोमा धन्यवाद । फरक विचारको सम्मान गर्न सक्ने संस्कृति विकासका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न सकौं । नयाँ वर्ष सन् २०१३ को सबैमा हार्दिक मङ्गलमय शुभकामना ।

Comments

Popular posts from this blog

प्राज्ञहरु आफैं राजनैतिक नेतृत्वको दास हुने बाटो रोजेका छन्

केशव सिग्देलसँगको युगबाणी सम्बाद प्रकाशित मिति: २०७५ फागुन १८ नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ? नेपाली साहित्यको सिर्जनशिल फाँटले व्यापकता पाउँदै गएको छ। समाजको विकाससँगै जुन नयाँ मुद्दाहरु हामीले पाएका छौं, त्यसले विषयवस्तुको व्यापकतामात्रै बढेको छैन, नेपाली लेखकहरुको विश्वसाहित्यसँगको अन्तरक्रिया पनि बढेको छ। कम्तिमा हिन्दी र अङ्ग्रेजीमा उपलब्ध विदेशी साहित्यको अध्ययनले हाम्रो लेखनलाई विषय र प्रस्तुतीको हिसाबले अझ सम्मुनत पार्दै पनि लगेको छ। लैङ्गिक समानता, पहिचान, विज्ञानप्रविधिको प्रभावजस्ता विषयहरुले नै लेखनको संरचनामा नविनता माग गरिरहेका हुन्छन्। र सचेत ढङ्गले नयाँ पुस्ताकोको हस्तक्षेप बढेको छ।  पछिल्लो लेखनमा साधना कम भयो भन्ने आरोप पनि छ नि? त्यो स्वाभाविक छ। सबै लेखकहरु उत्तिकै गम्भिरतापूर्वक लेख्न सक्छन् भन्ने छ्रैन। सबै यसमा टिकिरहन्छन् भन्ने पनि छैन। अथवा टिकिरहे पनि राम्रा सिर्जना आइरहन्छन् भन्ने पनि होइन। तर साहित्यमा जुन सचेतताका साथ काम भइरहेको छ, त्यो सकारात्मक छ। साधना गर्नेहरुका सिर्जना दीर्घजिवी हुन्छन्। अरु केही समयपछि ह...

Men, Words and Metaphors: An Interview by Isha Gharti

Interview re-posted from   Fr ! day Bal Bahadur Thapa (Balu), Keshab Sigdel and Prakash Subedi, represent the Nepali poets/writers of the new generation. Over the last decade, in addition to their powerful writing, they have been very active in the literary scene. They have contributed to the theatre and film scenario and have been active through organizations such as Society of Nepalese Writers in English (NWEN), Literary Association of Nepal (LAN) and Devkota Study and Research Center (DSRC). Apt with skills, substance and a will to contribute to national literature, they are a strong force to be reckoned with. Steadily gaining national and international recognition, they are slowly changing the scene of English writing in Nepal. What made you get into literature? Bal Bahadur: “I used to read a lot when I was young, everything from Hindi comics, like Bankelal to Prakash Kobit to Thomas Hardy, which is what inspired me to write, though I only started writing afte...

My Poems in Chinese Translation

Two Poems: "Colour of the Sun" and "   Wonders of a Leaf" Translated into Chinese by poet Yang Zongze ( 杨宗泽   ) [ 尼泊尔 ]   凯沙布·西格德尔 太阳的颜色        (外一首) 女儿正忙于为自己的思想着色 。 手指不停地 在纸板上的画面上移动 , 划来划去 。 “太阳是什么颜色的—— 黄色的,橘黄色的还是深红色的? 谁知道太阳是什么颜色的?” 她拿着一支彩色铅笔, 用小刀一个劲地削, 铅笔芯断了一次又一次, 她的神情越来越紧张 烦躁, 不安, 她抬起头,慢慢转向我, 用迷惑的眼神看着我。 她的眼神告诉我她此刻的心境, 她似乎在问我太阳是什么样色的。 我从来没有近距离地接近太阳为它着色, 我也不知道太阳的颜色, 只是经常憎恨它带来的炙热, 但又害怕它的缺席。至于它的颜色? 太阳到底有没有颜色? 太阳和我小女儿一起笑了,我不知道 如何告诉她微笑是什么颜色。 外面,雨下得很大, 屋里,我的意识里浮现出一个阴冷而 荒凉的湖,太阳倒映在湖上。 湖里的太阳是什么颜色的? 也许,就是我心里的那种颜色。 我对女儿说—— 画你自己 心中 的太阳吧,孩子! 叶子的奇迹 躺在床上 我梦见一只毛毛虫。 这只毛毛虫 在我身上停了下来 , 开始梦一片叶子。 我躺着 , 毛毛虫爬在我身上, 用它无数的手和脚 抚慰我, 让我兴奋。 肚子对着肚子, 毛毛虫和我 都沉浸在梦里。 毛毛虫 触摸我, 召唤我, 压榨我 , 吮吸我, 然后,变成一只蝴蝶。 在梦里, 我被毛毛虫触摸得很兴奋 , 心甘情愿地 被它吃掉了; 只留下生命中的神秘。 我感到纳闷 : 难道这只 蝴蝶是我 爱 的归宿 , 是我终极的梦 ? ......        ( 杨宗泽 译) 凯沙布·西格德...