Skip to main content

सौदावाजीमा मानवीय संवेदना

(निबन्ध) 

म भूईंमा ओछ्याइएको कार्पेटमा सिरानी राखेर पल्टिने तरखर गरिरहेको थिएँ । मोबाइल र ल्याण्डलाइन टेलिफोनमा लगातार घण्टि बजिरह्यो । घडी हेरेको रातको ९.३५ बजेको रहेछ । यसै पनि दिउँसोमा बाहिरी काममा जाने व्यस्तता हुने भएकोले लेखपढ गर्न, इमेल र अन्य सामाजिक सञ्जालमा अपडेट हुन रातीको समय सदुपयोग गर्नु पर्ने भएकोले अपवाद वाहेक नियमित सुताइ अबेर नै हुने गर्छ । झन अहिले त वुवा स्वयं चुनावमा उमेदवार हुनुभएकोले आजकल नेताकार्यकर्तादेखि शुभेच्छुकहरुको उपस्थिति घरमा अबेरसम्म हुन्छ । चुनावी कार्यक्रमहरुको योजनामा छलफल हुन्छ । त्यसमाथि अनुमान, आँकलन र दाबाहरुको शिलशिला लामै चल्छ । त्यसैले पनि समय घर्किएको थाहा हुँदैन । 

कार्तिक २४ गते शम्सेरगंजको चुनावी कार्यक्रमबाट बुवा ढिलो गरि आउनुभएकाले अन्य दिनजस्तो कार्यकर्ता÷शुभेच्छुकहरुको भिड थिएन । आएका केही फर्किसकेका थिए । कोठाभित्र पसेको एकैछिनमा त्यो घण्टी बजेको थियो । बुवाले नै फोन उठाउनु भयो । रिसिभरको अर्कोपट्टीबाट बोलिरहेको अपरिचित महिला आवाज बाहिरैबाट मैले पनि सुनें । फोन राखेपछि थाहा भयो कचनापुरबाट कर्णाली चिसापानी वनभोज खान गएको स्कूले विद्यार्थी, शिक्षक र अभिभावकहरुको समूह गाडी विग्रिएकोले कर्णाली नदी किनारमा अलपत्र परेको रहेछ । गाडी पठाएर उद्दार गरिदिनुपर्यो भन्ने आग्रह रहेछ त्यो । 

मानवीय हिसाबले पनि समस्यामा परेकालाई सहयोग गर्न आवश्यक हुन्थ्यो । त्यसमाथि स–साना केटाकेटीसमेत अलपत्र परेको कुराले विषयलाई झन संवेदनशील बनाइदियो । घरमा स्कार्पियो गाडी त खडा थियो तर त्यसमा आठ–नौजना भन्दा अटाउँदैनथ्यो । उता ल्याउनु पर्नेको संख्या झण्डै ७० थियो । रात छिप्पिँदै गएको र दूरी लामो भएकाले पालो गरि ल्याउने कुनै गुन्जायस पनि थिएन । स्कूले बच्चा बोक्ने बसहरु पनि खडा थिए तर दशैं तिहारको विदा भएकाले ति एक महिनादेखि चलेका थिएनन् र तिनको अवस्था कस्तो छ भन्ने पनि निश्चित थिएन । त्यसमाथि चालकहरु पनि विदामा थिए । सम्पर्क गर्न खोजिए पनि उनीहरुसँग त्यसो हुन सकेन । अब फसाद पर्यो ।

केही मिनेटपपछि फेरी फोनका घण्टी बज्न थाले । निरुपायजस्तै भएका हामीहरु उनीहरुलाई के भन्ने भन्ने अफ्ठ्यारोमा पर्यौं । यसपाली फोन मैले नै उठाएँ र भनें– ‘ड्राइभरहरुसँग सम्पर्क हुन सकेन । हामी केही विकल्प खोज्दैछौं ।’ भएको साँचो कुरा यही थियो । तर समस्यामा परेका उनीहरुलाई लागेछ यसो भनेर यिनिहरुले टार्ने भए । 

त्यसको एक मिनेट पछि फेरी अर्को घण्टी बज्यो । र फोन उठाएर मैले केही भन्नुअघि उताबाट कसैले भन्यो– ‘भोट लिने भए गाडी पठाइदिनुस् ।’ यो कुराले मलाई बेस्सरी झोँक चल्यो । मैले ठाडै भनेँ– ‘ठिक छ तपाईंहरु भोट नदिनुस् ।’ तर मैले मानवीय हिसाबले गाडी पठाउन्न भन्न सकिन । किनकी भोटका लागि होइन नितान्त मानवीय हिसाबले गाडी पठाउन पाए हुन्थ्यो भनेर म आँफै छट्पटाइरहेको थिएँ । ति स–साना केटाकेटीका स्वैरआकृतिहरु मेरो अगाडी नाचिरहे । मैले फेरी थपेँ– ‘भोट नदिएपनि केही छैन तर म गाडी लिएर आउँदैछु ।’


अफ्ठ्यारोमा परेपछि मान्छेले जे पनि गर्नुपर्दोरहेछ क्यारे । विचरा उनीहरुले पनि केही उपाय नलागेर भोटको सौदावाजी गर्ने सम्मको स्थितिमा पुगेका रहेछन् । मैले आउँछु भनेपछि फोनमा उनैले त्यो कुरा खोले । देउसीभैलो पछि रमाइलो गर्न वनभोजका लागि भाडामा लिएर गएको उनीहरुको बसलाई पार्किङ्ग गरिरहेकै अवस्थामा अर्को गाडीले ठोक्याएर क्षति पुर्याएको रहेछ । दुवै बसका चालकहरुलाई चिसापानी प्रहरी चौकीमा लगियो । बेलुकासम्म कुरा मिल्ला र अनि जाउँला भन्ने हिसाबले उनीहरु अलमल गर्दै पर्खिबसे । प्रहरी चौकीमा कुरा मिल्दासम्म साँझ छिप्पिसकेको थियो । त्यसपछि गाडीका स्टाफले गाडीमा भएकोे क्षतिले गाडी नबनाउन्जेल जान मिल्दैन भनेपछि मात्र उनीहरुको संकट ह्वात्तै गहिरियो । 

रातीको नौ बजेको थियो । गाडी तत्काल बनाउन त्यहाँ सम्भव भएन । त्यसपछि अर्को गाडी भाडामा लिन सकिन्छ कि भनेर प्रयास पनि गरेका रहेछन् । बल्ल बल्ल फेला परेको गाडीले तीस हजार दिने भए लगिदिन्छु भने पनि वनभोज खान गएकाहरुसँग त्यो रकम दिएर गाडी ल्याउने सामथ्र्य भएन । गाउँतिर चिनेजानेका गाडी भएका अरुलाई सम्पर्क गर्दा कोही पनि सहयोग गर्न तयार नभएपछि उनीहरुले यता फोन गरेका रहेछन् । साह्रै अफ्ठेरो परेपछि उनीहरुले शुरुमा सौदावाजी शैलीमा कुरा गरेका रहेछन् भन्ने थाहा पाएपछि त्यो कुरालाई मैले नराम्रो मानिन । 

तर म भने समस्यामा परें । आउँछु त भनेँ तर चालकसँग सम्पर्क हुन सकेन । दोस्रो, एक महिनासम्म थन्किएर बसेको गाडी ठीक अवस्थामा छ छैन भन्ने पनि थाहा भएन । तेस्रो, गाडीको चाबी र कागजात पनि सम्बन्धित चालकहरुसँग नै थियो । सम्पर्कका बस व्यवसायीहरुसँग पनि कुरा हुन सकेन । कसैका फोन स्विच अफ थिए, कसैले चालक छैन भने, कोही ‘सन्ध्याकालिन जल’को असरले खासै होसमा थिएनन् । फेरी घण्टी बज्न शुरु भयो । मेरो छटपटी बढ्दै गयो । उपाय सुझिरहेको थिएन । उनीहरुलाई मैले सान्त्वना दिन भनेँ– ‘हामी आउँदैछौं ।’ तर खासमा जाने उपाय थिएन । एक किसिमले मैले झूठ बोलेको थिएँ । हुन त त्यो असल उदेश्यले प्रेरित थियो, तर असल उदेश्यका लागि झुठ बोल्न हुन्छ भन्ने कुरालाई म आफँै समर्थन गर्दिन । त्यो परिस्थितिजन्य वाध्यता थियो मेरा लागि । 

कोठामा सँगै गोविन्द वाग्ले भाइ र ज्ञानबहादुरजी हुनुहुन्थ्यो । मेरो सकस देखेपछि गोविन्दले भने– ‘नभए मै लिएर जान्छु ।’ उनले हलुका गाडी राम्रो चलाएको त मलाई राम्ररी थाहा थियो तर ठूलो गाडी चलाएको देखेको थिइन । उनको कुरालाई मैले तत्काल प्रतिक्रिया जनाइन । मैले छेउमा उभिएका  ज्ञानबहादुरजीतिर आँखा दौडाए । मेरो संकेत बुझेजसरी उहाँले भन्नु भयो– ‘नभए जाउँ न त ।’ लामो समय रात्रीबस चलाएका पुराना चालक भएकाले बढी भरोसा जस्तो भयो । मैले विश्वास नगरेको गाविन्दले सजिलै थाहा पाए तर केही बोलेनन् । 
तर समस्या त ज्यूँका त्यूँ नै थियो । गाडीको चाबी र कागजात केही थिएन । माथिल्लो तलाबाट हामी गाडी पार्किङ्ग गरिराखेको पट्टी ओर्लियौं । गोविन्द फटाफट स्टेरिङतिर उक्लिए र मोटर साइकलको चाबीले स्टार्ट गर्न खोजे । अचानक घर्रर्रर्रर्रर्रर.... आवाज गर्दै गाडी स्टार्ट भयो । कागजात नभए पनि प्रहरीलाई उद्धार गर्न जान लागेका भनेर भनौंला भन्ने सोच्दै गाडी बाटोमा निकालियो । गोविन्दको ठाँउमा ज्ञानबहादुरजीले विस्तारै गाडी मदनचोकसम्म पुर्याएपछि गोविन्दले फेरी आफैँ स्टेरिङ लिए । खासमा अभ्यास नभएको गाडीमा जतिसुकै अनुभवि भएपनि गाह्रो पर्ने रहेछ । दिउँसोमा विद्यार्थी बोक्न मात्र प्रयोग हुने गाडी भएकाले रातीमा चल्ने सवारी जस्तो शक्तिशाली वत्ति यसमा थिएन ।  गोविन्दलाई त्यो ढिलो हँकाई पनि मनपरिरहेको थिएन । त्यसमाथि पाको मान्छे भएकाले रातीमा आँखा कति प्रष्ट देख्नुहुन्छ भन्नेमा पनि हामीलाई संशय भयो ।  त्यसबाहेक गोविन्द मलाई आफ्नो खुबी प्रमाणित गरेर देखाउन पनि चाहान्थे । मैले अविश्वास गरेको कुराले उनि भित्रभित्रै मुरमुरिएका छन् भन्ने मैले पनि बुझेको थिएँ । 
यसबीचमा मैले चिसापानीमा रहेका मध्ये एकजनालाई सम्पर्क गरेर हामी भुरीगाउँ आइपुगेको बताइसकेको थिएँ । उनीहरु पन्ध्र पन्ध्र मिनेटमा कहाँ आइपुगियो भनेर सोधिरहेका हुन्थे । रात छिप्पिँदै थियो । बाटोमा हिँड्दा बस्ती भएका ठाँउका केही पक्की घरमा तिहारका लागि राखिएका झालरहरु अझै बलिरहेका देखिन्थे । फाटफुट मानिसहरु बाटोमा लरबराउँदै हिँडेको बाहेक त्यो सुनसानलाई चिर्ने कुरा हाम्रै गाडीको आवाज मात्र थियो । गाडीको गतिसँगै झ्यालका सिसा खोलिँदै जाँदा ह्वात्त चिसोको मुस्लोभित्र पस्थ्यो । घरी घरी झ्यालका सिसा लगाइरहनुपथ्र्यो । काठमान्डुबाट आउँदा यहाँ यति छिटो चिसो बढिसक्ला भन्ने अनुमान नगरेकाले न्यानो लुगा ल्याएको थिइन । धन्न गोविन्द भाइको साइज नमिल्ने खालको ट्र«्याक जगेडामा भेटियो र चिसोबाट केही राहात भयो ।
विस्तारै गोविन्दले एक्सिलेरेटरमाथि दबाब बढाउँदै थिए । रम्भापुरदेखि चिसापानी पुलसम्म चार ठाउँमा चेकपोष्टमा रोकिँदै हामी झण्डै राती साढे एघार बजे कर्णाली पुल पारीको बजार नजिक पुग्न समर्थ भयौं । त्यसपछि हामीलाई पर्खिरहेको समूह नजिक पुग्दा उनीहरुले स्वर्ग लाने विमान आए जसरी खुशीले ताली र सिठी बजाउन थाले । कसैकसैले त नारासम्म पनि लगाउन भ्याए । तर मैले त्यसलाई प्रोत्साहित गरिन । एक दुईजनाले बाहेक म त्यहाँ छु भन्ने धेरैलाई मैले छनक पनि दिइन । 
गाडी मोड्न लाग्दै गर्दा म तल झरें । कर्णाली छेउबाट बहेको चिसो हावाले ह्वात्त छोप्यो र म थर्ररर काँपे । दिउसै पनि सिरेटो चल्ने त्यो ठाउँमा राती चिसो नहुने कुरै भएन । लगत्तै एक डेढ बर्षका काखे नानीहरुदेखि भोक, निद्रा र चिन्ताले ओठ मुख सुकाएका तन्नेरी र केही पाका खालका मानिसहरु गाडीभित्र सलह झैं पसे । ६७० मोडलको टाटा बसमा ३०–३५ भन्दा बढी बस्न मिल्दैन । तर त्यहाँ झण्डै ७० जना थिए । केटाकेटी खालकालाई काखमा राखियो । सिट नपाएकाहरु बोनटमा बसे । र केही आड मिलाएर उभिए । शुरुमा सबैले जान पाउनु नै ठूलो भाग्य भए जसरी अनुहारमा कृतज्ञता भाव झल्काए । केही छतमा भाँडाकुडाँ र अन्य सामानहरु राख्दै थिए । गाडी खचाखच भरियो । मोबाइल निकालेर समय हेरेको रातीको झण्डै १२ बजेको थियो । गाडी स्टार्ट गरुन्जेलसम्म साना खालका केटाकेटी निदाइसकेका थिए । बाहिर चिसोले सेकिएका केटाकेटी भित्र गुजुमुज्ज मान्छेहरुको भिडले उत्पन्न हुने शारिरीक तापमानको न्यानो पाएर लुपुक्क परेका प्रष्ट हुन्थ्यो । 
चिसापानी पुलबाट गाडी कचनापुरका लागि अगाडि बढ्यो । भोलिपल्ट कार्तिक २५ गतेका लागि नेकपा माओवादीले राष्ट्रव्यापी बन्दको घोषणा गरेकाले शुरुमा उनीहरु आत्तिएका थिए । तीन करिब तीन घण्टाको यात्रा पछि गाडी जिरो हुँदै टालिएको पिच भत्केर पुनः ग्राभेल बनेको कचनापुरको बाटोतिर सोझिएपछि धेरैले ढुक्क भएजसो गरे । त्यतिन्जेल झण्डै विहानको पौन तीन बजिसकेको थियो । केही अगाडी पुगेपछि बाटोमा झुण्ड झुण्ड मान्छे झर्दै गए । तर विहान भइसकेकाले हामीलाई फर्कनु थियो । बन्द भनेपछि अटेर गरेजसो गरि गाडी चलाउनु पनि ठीक थिएन । गाउँमा पुगेपछि गोविन्दले भने– ‘अब सबैलाई सजिलो हुने कुनै एउटा ठाउँमा रोकिदिन्छु । सबैजना झर्नुहोला । बिहान भइसकेकोले हामीलाई समयमै फर्कनुपर्छ ।’
त्यँही नजिक घर भएकाहरुले त हुन्छ हुन्छ भनेर सहमती जनाए । तर ५–१० मिनेट हिँड्नुपर्नेले घरघरै छोडिदिए हुन्थ्यो भने जसो गरे । एकदुई जनाले त अलिकति पर छोडिदिए यिनको के जाँदो हो भन्नसम्म भ्याए । मानवीय प्रवृत्तिको त्यो अध्याँरो पक्ष थियो । आफूँलाई मात्र केन्द्रमा राखेर हेर्ने प्रवृत्ति । मैले त्यसलाई नराम्रो मानिन । तर ति स–साना केटाकेटी आफ्नो घरमा पुगेर ढुक्कले सुत्न पाएको सम्झेर मलाई ठूलो सन्तोष भयो । त्यसले त्यो रातको जाडो र निद्रा दुवै विर्सायो । फर्केर घर पुग्ने बेला फेरी फोनको अर्को घण्टी बज्यो । त्यहि समूहका एकजनाले ‘तपाईंहरु पुग्नुभयो ?’ भनेर सोधे र फोन राखे । मान्छेहरुमा संवेदना अझ बाँकी रहेछ भन्ने आधार मैले फेरी पाएँ । 

Comments

Popular posts from this blog

प्राज्ञहरु आफैं राजनैतिक नेतृत्वको दास हुने बाटो रोजेका छन्

केशव सिग्देलसँगको युगबाणी सम्बाद प्रकाशित मिति: २०७५ फागुन १८ नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ? नेपाली साहित्यको सिर्जनशिल फाँटले व्यापकता पाउँदै गएको छ। समाजको विकाससँगै जुन नयाँ मुद्दाहरु हामीले पाएका छौं, त्यसले विषयवस्तुको व्यापकतामात्रै बढेको छैन, नेपाली लेखकहरुको विश्वसाहित्यसँगको अन्तरक्रिया पनि बढेको छ। कम्तिमा हिन्दी र अङ्ग्रेजीमा उपलब्ध विदेशी साहित्यको अध्ययनले हाम्रो लेखनलाई विषय र प्रस्तुतीको हिसाबले अझ सम्मुनत पार्दै पनि लगेको छ। लैङ्गिक समानता, पहिचान, विज्ञानप्रविधिको प्रभावजस्ता विषयहरुले नै लेखनको संरचनामा नविनता माग गरिरहेका हुन्छन्। र सचेत ढङ्गले नयाँ पुस्ताकोको हस्तक्षेप बढेको छ।  पछिल्लो लेखनमा साधना कम भयो भन्ने आरोप पनि छ नि? त्यो स्वाभाविक छ। सबै लेखकहरु उत्तिकै गम्भिरतापूर्वक लेख्न सक्छन् भन्ने छ्रैन। सबै यसमा टिकिरहन्छन् भन्ने पनि छैन। अथवा टिकिरहे पनि राम्रा सिर्जना आइरहन्छन् भन्ने पनि होइन। तर साहित्यमा जुन सचेतताका साथ काम भइरहेको छ, त्यो सकारात्मक छ। साधना गर्नेहरुका सिर्जना दीर्घजिवी हुन्छन्। अरु केही समयपछि ह...

Men, Words and Metaphors: An Interview by Isha Gharti

Interview re-posted from   Fr ! day Bal Bahadur Thapa (Balu), Keshab Sigdel and Prakash Subedi, represent the Nepali poets/writers of the new generation. Over the last decade, in addition to their powerful writing, they have been very active in the literary scene. They have contributed to the theatre and film scenario and have been active through organizations such as Society of Nepalese Writers in English (NWEN), Literary Association of Nepal (LAN) and Devkota Study and Research Center (DSRC). Apt with skills, substance and a will to contribute to national literature, they are a strong force to be reckoned with. Steadily gaining national and international recognition, they are slowly changing the scene of English writing in Nepal. What made you get into literature? Bal Bahadur: “I used to read a lot when I was young, everything from Hindi comics, like Bankelal to Prakash Kobit to Thomas Hardy, which is what inspired me to write, though I only started writing afte...

Earthquake

by KESHAB SIGDEL The ground beneath the feet shakes Windowpanes swing with dooming creaks And where I live soon turns into a dancing house Before I connect any of these episodes of a                  rallying terror! Is it the life we love? Is it the death we fear? Sorry, it’s not the time to contemplate; But I see my dear ones run even when I am here Lovers, friends, parents and everyone who can They run and jump, and stroll and creep To make a sense of their being Through the last long breath they inhale.  I am stranded here in the crumbles of the razed house I’m no more a lover or a friend, but a sufferer. Sanity is a word of mockery — Vanity is not yet thought of — It doesn't matter if I want to go to them Or if they want to come to me in a new incarnation With a rescue plan, with cheer groups around, And the flashes and the annoying selfie-shutters.   Thanks God, I got to see the...