(निबन्ध)
केशव सिग्देल
इम्याजिनेसन
अर्थात् कल्पना । मलाई सधैँ लागिरहन्थ्यो यो जीवनमा धेरै सजिलोसँग गर्न सकिने एउटै
मात्र काम कल्पना हो । तर वास्तविकता यति सरल रहेनछ । मनमा अनेक भावनाहरूले जुलुस
चलाइरहँदा ति भावनाहरूमाथि नियन्त्रण गर्न, त्यसलाई व्यवस्थित गर्न र एउटा समुच्च कल्पनाको आकार दिन
कठिन रहेछ । कल्पनाको तहमा विचारहरूमाथि मेडिटेसन गर्नु वा विमर्श गर्नु र ती
विचारहरूलाई रङ्गहरूमा, अक्षरहरूमा वा
विम्बहरूमा लिपिवद्ध गर्नु फरक मोर्चामा लडिने भिन्नै युद्धजस्ता हुँदा
रहेछन् ।
अहिले पनि म
भावनाहरूमा मौन मेडिटेसन गरूँ या त्यसलाई सिर्जनात्मक क्यानभासमा लत्पताएर
स्वतन्त्र अभिव्यक्तिको प्रयत्न गरूँ भनेर निर्णय गर्न सकिरहेको छैन । धेरै
समयसम्म अनिर्णयको बन्दी रहनुका शुभाशुभ परिणामहरूपट्टि मनोगत कल्पना दौडाइरहेको
छु, तर ती भवितव्यप्रति
आश्वस्त बनाउन सकिरहेको छैन आफैलाई । त्यसैले आज आफैसँग मौन संवादका लागि तयार
पारिरहेछु, र केही लेखकीय तुष्टिको
कामना पनि गरिरहेछु ।
विभिन्न
आयामहरूलाई एकैसाथ बोध गर्न नसकिएकाले जीवन आफैँ विचित्र जस्तो प्रतीत हुन्छ ।
स्यामुयल बेकेटका नाटकहरूले प्रस्तुत गरेको एब्सर्ड वल्र्ड त्यही विरोधाभास र
अर्थहीनताका अभिव्यक्ति हुन् जस्तो लाग्छ । कुनै आयामहरू सरल र बोधगम्य लाग्छन्—घरपरिवार, गाउँठाउँ, देशजगत्, सबै आफ्नै र परिचित, अथवा पराई र अपरिचित, एउटा प्रष्ट कित्तामा छुट्टिन्छन् । त्यसैले हामीलाई सजिलो
भए जस्तो हुन्छ । हाम्रा क्रियाकलापहरू, दिनचर्याहरू, पनि उस्तै र उनै
हुन्छन्—मात्र दोहोरिन्छन्,
तेहरिन्छन्, केही संसोधनहरूसहित।
तर ती सबै गोचर
वस्तुहरू वाह्यता अर्थात् एक्सटर्नालिटिज मात्र हुन् । मान्छेको मस्तिष्कभित्र,
मनभित्र, अर्कै टापु बनेको हुन्छ, र त्यो टापुमा बसोवास गर्नेहरू बाहिरी संसारबाट विच्छेद भएर
बाँच्दा रहेछन् । म स्वयम् समयको नौकामा छु, गन्तब्यहीन । हावाको झोक्काले निर्देशित गरेको दिशातिर
बगिरहेछु—उत्तर, दक्षिण, पूर्व, पश्चिम—जताततै । स्वयम् आफ्नो यात्रामा आफ्नै
नियन्त्रण गुमाइरहेछु । मलाई यात्रा कहाँ टुङ्गिन्छ भन्ने पनि थाहा छैन, र यात्रा टुङ्ग्याउने उपाय पनि सुझिरहेको छैन।
समयको नौकामा सवार भइरहेको बेला महासागरको कुनै विन्दुबाट म टापुका वासिन्दाहरूसँग
संवाद गर्न चाहिरहेको हुन्छु । तर सबै प्रयासहरू संवादहीनतामा टुङ्गिदै गइरहेछन् ।
समय विगत बनेर गइरहेछ र सम्झनाहरू तत्कालका जस्ता झन् स्पष्ट र जीवन्त भएर बौरिँदै
आइरहेछन्—स्मृतिको क्यानभासमा ।
निरूद्देश्य पनि
आफैमा एउटा उद्देश्य हो कि होइन म भन्न सक्तिनँ । तर जीवनयात्रा सधैँ उद्देश्य
प्रेरित हुन्छ भन्ने छैन । खोला जस्तै, पानी जस्तै, सतत बगिरहन सक्छ
। बगाइसँगै उद्देश्यहरू आफै बन्दै जान सक्छ, अथवा कसैले त्यसमा उद्देश्य देख्न सक्छ, कम्तीमा दैवी उद्देश्य । जीवनका कयौँ दिनहरू
उद्देश्यहीन नै सहरका साँघुरा गल्लीहरू छिचोलियो, त्योभन्दा धेरै मनका गल्लीहरू छिचोलियो । जीवनका शक्तिशाली
चित्रहरू ती साँघुरा गल्लीहरूमा चेपिँदै जान्छन्, प्रष्ट नदेखिने नम्बरप्लेटवाला गाडीले निकालेको धुवाँको
मुस्लोले पोतिएर मैलो र अस्पष्ट हुँदै जान्थे, र झन्डै झन्डै हराउँथे । मनमा त्यो चित्र लिएर हिँडेको
मान्छे म नै हो भन्ने हेक्का पनि धेरैबेरसम्म भइरहन्नथ्यो । केही उद्विग्नता,
अलिकति तनाव, केही थकान र अनिश्चित भविष्यको भयले अर्धचेत जस्तो एउटा
स्थूल शरीर घिस्रिरहन्थ्यो मूल सडकका पाखाहरूमा । हरेक पाइलाहरू भारी र निरर्थक
शून्यतातर्फ बढिरहेका छन् झैँ अनुभूत भइरहेथ्यो ।
तर त्यही
उद्विग्नता र अनिश्चयता लेपिएको अँध्यारो आकाशमा मिठो उमङ्ग फुलाइरहेका युवा
जोसहरू त्यो मूच्र्छनालाई चिर्न खोजिरहेथे । आश्चर्य ती जोसहरू वयले होइन, मनले, कल्पनाले, युवा थिए । हुन त
एउटै बाटो तय गरिरहेथ्यौँ हामीहरू तर हाम्रा धारणा र शैलीहरू भिन्न थिए, भनौँ एक किसिमले विपरीत थिए । म जीवन बाँच्न
अभिशप्त जस्तो निरूद्देश्य छिचोलिरहेथे दूरी । र उनीहरू ठड्याइरहेका थिए कल्पनाको
संसार—सम्पन्न र वैभवपूर्ण ।
तर ती युवाहरू
मेरै कल्पनाका उपजहरू थिए । कल्पना मात्रले ममा छुट्टै शक्ति सञ्चार गरेको थियो ।
कल्पनाको शक्ति र सामथ्र्य बोल्न योभन्दा बलियो विम्ब अरू हुन सक्तैनथ्यो । मनको
एउटा अंश कल्पनाको भर्याङ्ग चढिरहेको छ । म यथार्थ जीवनको सिँढी ओर्लिरहेछु ।
कल्पना र यथार्थले बनाउने वृत्तमा यी कतै न कतै मिल्दा हुन् । तर वृत्तमा त्यही
एउटै विन्दुले आरम्भ र अन्त्यको सङ्केत गर्दछ । एउटा निमुखो विम्ब मनको कुनामा
एपेन्डिसाइटिस् जस्तो मूल्यहीन र दुःखको कारक भएर रहिरहेको छ । कल्पनाका वैभवशाली
विम्बहरूका अगाडि मेरा तथाकथित सत्यहरू अथवा तिनका विम्बहरू निस्तेज हुँदै,
भत्कँदै, गइरहेकाले अब कल्पना र यथार्थबीचको मेरो संवाद प्रयास
अवरुद्ध जस्तो भएको छ ।
हुन पनि जीवन झन्
बढी जटिल र संवादहीन हुँदै गइरहेछ किनकि विम्बहरू मार्फत मात्र सञ्चार गरिरहेछौँ
हामीहरू । यहाँ प्रत्येक पटक विम्बहरू मात्र युद्ध जितिरहेछन्, हामी आफू भने लगातार हारिरहेछौँ । जुन विम्बको
वैशाखी टेकेर मेरो मस्तिष्क सफलताका नयाँ सोपानहरू उक्लिन खोजिरहेछ, त्यो विम्ब आफैमा प्रभावशाली अवश्य छ, तर म आफै भने चिन्तित र व्यथित हुँदै गइरहेको
छु । विम्ब र जीवनसँगको सङ्गति बनाउन सकिँदैन कि भन्ने चिन्ताले स्खलन गराइरहेछ
मनका हिमगिरिहरू । त्यसैले म आफैँ जीवन र विम्बसँग नेगोसियसन गराउन खोजिरहेको छु ।
अन्तरमनमा निस्पृह उब्जिरहने कल्पना संवेगहरूसँगको अन्तद्र्वन्द्वमा बल्झिएको बेला
बाह्य सङ्केतहरूप्रति रेस्पोन्स जनाउन सकिँदैन कि भन्ने चिन्तालाई सापेक्षिक
आधारमा बुझ्न खोजिरहेछु । मनोवादमा सीमित भएको यो संवाद कल्पना र यथार्थबीचको सेतु
हुन सकोस् भन्ने कामना गरिरहेछु ।
मैले आफैसँगको
संवादलाई प्रश्नहरूले जोडेको छु । प्रश्नहरू संवादलाई ब्युँताउने औजार पनि हुन
सक्छन्, सुषुप्त आकाङ्क्षाहरूलाई
ब्युँझाउने तरिका पनि हुन सक्छन् । यसले सधैँ उत्तरहरूलाई आमन्त्रण गर्छ भन्ने पनि
केही छैन । प्रश्नका धेरै उद्देश्यहरू हुन्छन्, आशय र प्रयोजनहरू हुन्छन् । प्रश्नकर्ता र प्रश्नहरूबीचको
सम्बन्धको निरूपण पनि त्यही आशय र प्रयोजनले निर्धारण गर्ने हो ।
तर त्यो सिङ्गो
प्रक्रिया जीवनको एउटा विम्ब बन्न पुग्छ । जीवन र प्रश्न एकअर्काका पर्याय हुन्छन्
। असङ्गति र अव्यवस्थाभित्र सङ्गति र व्यवस्था खोज्ने नियतिबाट हामी गुज्रिरहेछौँ
। त्यसैले विकसित हुँदै जाने नयाँ विम्बहरू झन् जटिल, अबोधगम्य र त्रासदपूर्ण हुँदै जान्छन् कि भन्ने पनि
लागिरहेछ । समयले जीवन स्वयम्लाई विम्बको रूपमा रूपान्तरण गरिरहेको बेला जीवन र
विम्बबीचको भेद हराउँदै गइरहेछ । वास्तवमा जीवन विम्बहरूकै निर्माण र विनिर्माणको
निरन्तर प्रक्रिया जस्तो लागिरहेछ ।
यति बेला म भने
विम्बको उपासक मात्र भएकोछु। र तिनै शक्तिशाली विम्बहरूको छायाँमा
अस्तित्वविहिनताको अर्को नयाँ विम्ब बन्ने खतरा मोलेर उकुच पल्टिरहेको छु, समयको फेरमा । त्यसैले मैले यो आत्मसम्वादलाई
सुरु गरेको हुँ—सुरक्षित
अस्तित्वका लागि, कम्तीमा
अक्षरहरूमा, अभिव्यक्तिहरूमा
। विम्बहरूमा कतै बाँचिरहन सकेँ भने यो संवादको क्रमलाई जोडिरहने छु—जीवन मूल्य र चिन्तनका निमित्त ।
Comments
Post a Comment