Skip to main content

निःशव्द अर्थात् मौन शव्दहरु

(रेशम विरही दाइ नेपालगंजमा पत्रकारिता गर्ने अन्तिम वर्ष तिर (ठ्याक्क वर्ष सम्झना भएन) दाइको आग्रहमा उहाँले सम्पादन गर्ने पत्रिकालाई केही न केही लेख्छु भन्नलाई  मैले यस्तो पत्र लेखेको रहेछु । चिठीमा उठेका विषय अहिले पनि उत्तिकै सान्दर्भिक हुनु दुर्भाग्य भइदियो ।) - केशव सिग्देल

प्रिय दाइ,
शव्दहरुमा आकांक्षा लुकेको हुन्छ । शब्दले नै आग्रहरु जन्माउँछ । लोभ, ईष्या, अंहकार शब्दहरुबाटै जन्मिन्छ । शब्दहरु बिर्संदै गए आग्रहहरु हराउँदै जान्छन् । निःशब्द मान्छे बुद्ध हुन्छ ।

धेरै समय म निःशब्द भएँ तर बुद्ध भइन ।

मेरो इतिहास बलजफ्ती मबाट खोसियो । मेरो थालको भात खोसियो र शब्दकोषमा भोक र छटपटी थपियो । मेरो विवेकमाथि प्रहार गरियो र शब्दकोषमा घृणा र हिंसा थपियो । मेरो देश बलजफ्ती मबाट खोसियो र शब्दकोषमा परिवर्तन थपियो । म अहिले शब्दहीन भएको छु । प्रत्येक दिन शब्दकोष पल्टाउँछु । भोक पिउँछु र छटपटी ओकल्छु । घृणा पिउँछु र हिंसा ओकल्छु । शब्दहीन पारेर मलाई बुद्ध बनाउने प्रयत्न भइरहेको पनि हुन सक्छ ।

तर म बुद्ध भएको छैन ।

मैले शब्द विर्सेको छैन । शब्दहरुको सहायताले मैले आफ्नो भविष्य खोजिरहेको थिएँ । मैले प्रेम गरेका शब्दहरmको भावनामा चोट नपुगोस् भनेर म निःशब्द भएँ । शब्दहरुको सम्मान हुन सक्दैन कि भनेर म मौन बसेँ ।

तर म बुद्ध होइन ।

मलाई शब्दहरुसँग प्रेम छ । शब्दहरुको दुरुपयोग सह्य हुने कुरा होइन । उत्पादन संरचनाको ध्वंसलाई निर्माण मान्न सकिन्न । नागरिक जीवनमाथिको आक्रमण श्रृखंलालाई शान्ति स्वीकार गर्न सकिन्न । विचार प्रवाहको निषेधलाई स्वतन्त्रता भन्न सकिन्न ।

तर यो विचार दास बनेको समय हो ।

मेरो शब्द भीडमा हराउन सक्छ । मेरो आवाज, मेरो जीवन नै अपहरणमा पर्न सक्छ । मेरो आह्वान स्वीकार गरेर बुद्ध भगवान फेरी यो धर्तीमा नआउन सक्छन् । तर कदाचित् उनी आए भने शब्दको अपहेलना सहन नसकेर पहिला उनले नै मौनता भङ्ग गर्नेछन् ।

मेरो यो ठम्याइपछि मैले लेख्ने निधो गर्नु नै थियो ।

एकदिन अचानक तपाईं (अर्थात् रेशम विरही) काठमाण्डुको सुन्धारामा भेटिनु भो । सुन्धारा— त्यसमा अहिले न सुनको लेप बाँकी छ न पानीको धारा नै । यसले समग्र देशको पीडा बोलिरहेछ भने जस्तो देखिन्छ । तर हामीले सुन्धाराका बारेमा कुनै चिन्ता व्यक्त गरेनौं । नेपालगंजदेखि काठमाण्डुसम्मको यात्राको आफ्नै विशिष्ट संवेग हुन्छ  जुन प्रत्यक्ष परोक्ष शक्तिसँग जोडिएको हुन्छ । काठमाण्डुको भन्नासाथ वाहिरका मान्छेहरु बैशाखी टेकेको मान्छेसँग पनि दौडमा पराजित हुन्छन् । म मनोवैज्ञानिक कुरा गरिरहेछु ।

तर अहिले सबथोक उल्टो चलिरहेछ ।

सिंहदरबार छिर्नासाथ मान्छे कमजोर र शक्तिहीन प्रतित भइरहेछ । त्यसो भन्नुको अर्थ काठमाण्डुले आफ्नो शक्ति गुमाउँदै गइरहेजस्तो देखिन्छ । नेपालगंजमा बसेर पत्रिका सम्पादन गरिरहेको हिसाबले तपाईंले  काठमाण्डु आउँदा  मलाई केही लेख्न आमन्त्रण गर्नुभयो । त्यसमा केही आत्मीयता र प्रेम थियो । केही चेतावनी र चुनौती थियो। र संभवत काठमाण्डुको निरीहताप्रति व्यङ्गय पनि थियो । म केही कालदेखि मौन थिएँ । शब्दहीन थिएँ । तपाईंको आमन्त्रणमा म फेरी मौन बसेँ । तपाईंले त्यसलाई सम्मतिको संकेतको रुपमा लिनुभयो, सायद । काठमाण्डुसँग केही खुसामत गरेर तपाईं फर्कनुभयो ।

मैले आफ्नै निःशब्दतासँग प्रश्न गरेँ ।

कुनै विद्वानले भनेका थिए— व्यक्त गरेर भन्दा मौन रहेर नै धेरै थोक भन्न सकिन्छ । धेरै समयको मन्थनपछि मैले ति विद्वानको सुझावलाई मूर्खतापूर्वक अवज्ञा गरेर केही लेख्ने निधो गरेँ । म अहिले ति शब्दहरुको सम्मानका लागि लेखिरहेको छु जसले मलाई विवेकका पक्षमा उभिनलाई सामल दिएका छन् ।


Comments

Popular posts from this blog

A Conversation with God

During the prayer to God I said, ‘I have nothing to offer but my dreams.’ God was not assured. Hundreds of devotees queue up everyday at least with a basket of flowers, a few incense sticks, and a coin or two. I saw no reason why God should be unhappy with me, and with them all. To God, I said again, ‘I have nothing to offer but my faith.’

प्राज्ञहरु आफैं राजनैतिक नेतृत्वको दास हुने बाटो रोजेका छन्

केशव सिग्देलसँगको युगबाणी सम्बाद प्रकाशित मिति: २०७५ फागुन १८ नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ? नेपाली साहित्यको सिर्जनशिल फाँटले व्यापकता पाउँदै गएको छ। समाजको विकाससँगै जुन नयाँ मुद्दाहरु हामीले पाएका छौं, त्यसले विषयवस्तुको व्यापकतामात्रै बढेको छैन, नेपाली लेखकहरुको विश्वसाहित्यसँगको अन्तरक्रिया पनि बढेको छ। कम्तिमा हिन्दी र अङ्ग्रेजीमा उपलब्ध विदेशी साहित्यको अध्ययनले हाम्रो लेखनलाई विषय र प्रस्तुतीको हिसाबले अझ सम्मुनत पार्दै पनि लगेको छ। लैङ्गिक समानता, पहिचान, विज्ञानप्रविधिको प्रभावजस्ता विषयहरुले नै लेखनको संरचनामा नविनता माग गरिरहेका हुन्छन्। र सचेत ढङ्गले नयाँ पुस्ताकोको हस्तक्षेप बढेको छ।  पछिल्लो लेखनमा साधना कम भयो भन्ने आरोप पनि छ नि? त्यो स्वाभाविक छ। सबै लेखकहरु उत्तिकै गम्भिरतापूर्वक लेख्न सक्छन् भन्ने छ्रैन। सबै यसमा टिकिरहन्छन् भन्ने पनि छैन। अथवा टिकिरहे पनि राम्रा सिर्जना आइरहन्छन् भन्ने पनि होइन। तर साहित्यमा जुन सचेतताका साथ काम भइरहेको छ, त्यो सकारात्मक छ। साधना गर्नेहरुका सिर्जना दीर्घजिवी हुन्छन्। अरु केही समयपछि ह...

चराहरुको जुलुस

केशव सिग्देल कीर्तिपुरको डाँडामा उभिएको छु म यतिबेला र जिब्रो थुतिएको भैरवको थान अघिल्तिरबाट म खोजिरहेछु शक्तिको नाभीस्थान । देउता पनि मूक बसेको यो अग्लो ठाँऊबाट विवश भएर म हेरिरहेछु कंक्रिटको जङ्गलभित्र ढल्दै गरेको न्याय र जीवहरुका खुम्चिँदै गएका पाइलाहरु अब यहाँबाट देखिन्छ उही पुरानो, जर्जर, दरबार जस्तो गुफा मात्र । शाक्तिको उन्मादमा एउटा बुढो सिंह आफूलाई त्यो दरबारको राजा घोषित गर्छ र आफ्नो भोक तृप्तीका लागि हरेक दिन आफ्नै वस्तीका जीवहरुलाई एक एक गरी खाने कानून बनाउँछ । भय र सन्तापमा परेका जीवहरु बिरोधमा बोल्न सकेका छैनन् । दम्भको कलिङ्ग ठड्याएर त्यस गुफाभित्र सबै जीवका आवाज थुत्ने प्रपन्च गरिरहेछन् त्यो बुढो सिंह र केही थान छट्टु स्यालहरु । देबढोका पश्चिमको गुम्बामा डम्फुको आवाज खुब चर्को गरि बजिरहेछ, सायद गुम्बाका भिक्षुहरु निमुखा मृग र चराका हाडखोर देखेर अत्तालिएका छन् । गुफाको स्वघोषित राजालाई थाहा नहुन सक्छ बालकथाका खरायो मन्दिरको खापामा राखिएको तरवार झिकेर देव पुखूमा पखालिरहेछ हारेको युद्धका खाटाहरु । विवेक वर्जित गरिएको शहरमा फेरी बिरोधक...