निबन्ध
केशव सिग्देल
म बस्ने कोठाको पूर्वी मोहोडाबाट एउटा बाटो हिँड्छ । झ्यालबाट म त्यो बाटो भएर गुज्रिने समयको राप र तापको भावभङ्गि हेर्छु । मानिसका मुर्झाइरहेका सपना, सुस्केरा र विस्मात् पनि देख्छु । ति र त्यस्ता अनेकौं भाव र दृष्यहरु त्यो बाटो भएर ओहोरदोहोर गरिरहन्छन् । एक हिसाबले आउँछन् र हराउँछन् । कहिले काँही कुनै घटना वा भावले उद्वेलित गर्छन् र ति दृष्यहरु मेरो दृष्यपटलका आकास्मिक नियमितता भएर गुज्रिरहन्छन् । झ्याल बाहिरको त्यो राग र त्यसको प्रभाव झ्यालभित्र पनि महशुस हुन्छ । सोच्दा सोच्दै कुनै समय म स्वयम् त्यही सडक भइदिन्छु । र मानिसहरुको त्यो चाप, त्यो दबाब मेरै शरिरमा उत्पन्न हुन्छ । त्यो तापले शरिरको चिन्तनधारालाई ब्युँताइदिन्छ र म विचारोत्तेजित एउटा फिलोङ्गो हुन्छु । त्यो फिलिङ्गोले मेरो आसपासमा रहेका सबै बस्तुहरु अब वस्तु नभएर मेरो मानस भवका, मेरो चिन्तन मण्डलका सामल हुन विवश हुन्छन् ।
भावनाजन्य अनेक प्रकारका यस्ता झञ्झावात् मसम्म आइपुग्न यही झ्याल दोषी छ कि जस्तो पनि लाग्छ । तर दृष्य वा विचार झ्याल वा ढोका भएर मात्रै हिँडेका त अवश्य हुँदैनन् । त्यो त एउटा संजोग हो । झ्याल सूत्राधार जस्तो भयो । सेतु जस्तो भयो । ति सबै हुनुका पछाडीको आर्किटेक्ट त यही मन हो । बस् चाहानुपर्छ इन्द्रप्रस्थ बनाइदिन्छ एकै क्षण । तर मन आफैं लाक्षागृह पनि हो । आफ्नै अभिमान, आफ्नै षड्यन्त्रको फन्दामा परेर दनदनी बलिरहन्छ । त्यो झ्याल न इन्द्रप्रस्थको याचक थियो न अभिमानमा जलिरहेको यो मानस समयका बारे विलाप गर्नुपर्ने कुनै अभिष्ट राख्छ ऊ । यही समताभाव नै झ्यालको अर्थ हो । जे आउनुछ, उसका लागि स्वागातापेक्षी भइदिन्छ । जे जानुछ विदाईको पनि साक्षी रहिदिन्छ ।
तर झ्यालबाट आजकाल देखिने दृष्य अलिक फरक छ । प्रत्येक मान्छे आफ्नो क्षमता र गक्ष अनुसारका मुकुण्डो लगाएर हिँडिरहेका छन् । सायद हाकाहाकी हिँड्नलाई यो समय उपयुक्त छैन । महाव्याधीको भयले मनमा भयंकर कम्प ल्याइदिएको छ । म देखिरहेछु अगलबगलका घरमा सुदूर गाउँका तमाम विद्यार्थीहरु अनमयस्क यताउता छटपटाइरहेछन् । आफ्ना साथीसम्पर्क देखि राजनैतिक प्रभाव सबै लाइफलाइन प्रयोग गरिसकेपछि यो खाल्डोमा अब बाँचिराख्न असम्भव हुँदैछ भन्ने आभाष उनिहरुको मुखमण्डलमा प्रष्ट हुँदै जाँदै छ । जो जहाँ जे जस्तो अवस्थामा छ, त्यहीँ त्यसरी नै रहनु भन्ने सरकारी फरमानको उपेक्षा गरेर यिनीहरुका झोलागुन्टा कंलकी चोक पुग्ने दौडमा निस्किएका छन् । त्यसपछिको अत्यास र सास्ती सायदै अहिले यिनिहरुको कल्पनामा होला । मेरा एकजना परिचित छन्, बडो उत्साही र जागरुक । सरकारको फरमान तामेली गर्नै यो लोकमा जन्मिएका हुन् जसो गरी मानिसहरुको केरकार गरिरहन्छन् । आफैं पुलिस र कानून भएर ओंठ तालु सुकाएर बेसाहारा सडकमा हिँड्ने ति मानिसको हुर्मत लिइरहन्छन् । तर जब भनसुनको प्रभावले सरकारी पास हात पार्छन्, त्यसपछि अन्य लोकलाई बर्जित सडकमा आफू भने साँढे भएर मोटर कुदाउँछन् र त्यसको भिडियो बनाएर फेसबुक र ट्विटरबाट हामीलाई झस्काइरहन्छन् ।
मेरो झ्यालसँगैको एक टुक्रा खालि जमिनमा छिमेकी बज्यै भर्र्खरै हुर्किन लागेका मकैका बोट गोड्दैछिन् । सँगसँगै बोडी र सिमीका बिउ पनि रोपिरहेकी छन् । सुकेका बाँस चिेरेर बारबेर लगाइएको छ । त्यही बारमा हाइजम्प हानेर दुईथान कुकुर बारीमा लडिबुडि गर्न आइपुग्छन् । हाइब्लड प्रेसरको सिकायत खेपिरेहेका ति बज्यैका अधबैशें छोरा खाली गोडाले बारीको छेऊ उम्रिएको दुबोमा हिँड्ने चेष्टा गरिरहेछन् । बाटोको शिरानतिर घरभएका हिराकाजी नयाँ ग्राहकलाई अलि परै उभिएर हातको इशाराले यही जमिनको टुक्रोतिर संकेत गरिरहेछन् । तर जग्गाको मालिक सायद अरु कोही हो । उसैको आदेशमा दुईजना मानिस फित्ता लिएर जग्गाको चारकुनो नापिरहेछन् । खाली रहेको यही एक टुक्रो जमिनले मेरो झ्याललाई उसको धर्म निर्वाह गर्न सामथ्र्यवान बनाइदिएको हो । म र त्यो बाटोलाई आमनेसामने बनाइदिएको हो । कथम् यहाँ अर्को घर ठडियो भने, यो जमिनको पूर्वी मोहोडाबाट हिँड्ने बाटो मेरा लागि एउटा कथा हुनेछ । झ्यालको अहिलेको सत्ता एउटा इतिहास बन्नेछ । म ढोकाबाट निस्किएर त्यो बाटोसम्म पुग्न त सकौंला । तर अरु कोही नै मलाई आफ्नो झ्यालबाट हेरिरहेको हुनेछ । फगत एउटा अवसाद बोकेर हिँडेको पात्र हुनेछु त्यतिखेर । म आफैं द्रष्टाबाट दृष्य भएको हुनेछु । कार्मिक दृष्टिले यो पतनको एउटा स्वरुप पनि हो । तर फेरी स्वरुप भन्नु भनेकै त्यो नै त्यसको अन्तिम सत्य होइन भन्ने पनि हो । फेरी द्रष्टा हुने, कर्ता हुने सम्भवाना जिवितै छ । मलाई पतन र उत्थानको कुराले भन्दा पनि कुनै व्यक्ति र वस्तुको अस्तित्व कसरी पराधिन हुँदो रहेछ भन्ने प्रकट ज्ञानले बढी तरङ्गित गरिरहेको छ । झ्यालको अस्तित्व त्यो खाली जमिन र खुला आकाशमा निर्भर रहेछ । स्वयम् म द्रष्टा हुनुको भावमा अडिएको रहेछ । अथवा सडक र त्यहाँ हिँडिरहेका मानिसहरु दृष्य हुनुको भावमा टिकेको रहेछ ।
झ्याल आफैं कारक होइन । त्यो त जानिएकै कुरा हो । तर जति पटक म त्यसको माध्यम भएर बाहिर दृष्टि पु¥याउँछु, दृष्यहरु फेरिदैं जान्छन् । मानौं आकाश आफैं एउटा सिनेमाको पर्दा हो र त्यसमा कोही निरन्तर असम्पादित दृष्यहरु देखाइरहेछ । आधुनिक प्रविधिको भाषामा एउटा लाइभ टेलिकास्ट । यसको छायाङ्कन कसले गरिरहेको होला? यसको कन्सेप्ट कसले तयार पा¥यो होला? निर्देशक को होला ? मलाई अकारण यस्तो लाइभ टेलिकास्ट हेर्ने सुविधा किन प्राप्त भएको होला ? यि र यस्ता अनेकौं प्रश्नहरु मेरो मनमा नआउने होइनन् । तर ति प्रश्नहरुले मलाई चिन्तनको गहिरो भूमरीमा पु¥याइदिन सक्छन् जहाँबाट सजिलै उत्रन सम्भव छैन । अरुले सोधेका भन्दा आफ्नै मनमा अकारण आइदिने यस्ता प्रश्नहरुले मलाई बढि भयभित तुल्याइदिन्छन् । यि केवल प्रश्नहरु मात्र होइनन् जसले सपाट उत्तरहरु खोजिरहेका होऊन् । यि समयले बुनेका चक्रव्यूह हुन् । कसैगरी त्यसभित्र पसि नै हालियो भने पनि त्यसबाट उम्किएर आउन सम्भव हुने छैन । सिङ्गै मानव सभ्यता यही चक्रव्यूहको रचनागर्भ थाहा पाउन आदिम कालदेखि लागि परेको हो । टुक्रा टुक्रामा, हिस्सा हिस्सामा केही बुझिएको जस्तो भएर पनि केही नबुझिएको समयको यो व्यूहको कल्पनाले पनि म क्लान्त हुन्छु ।
झ्यालबाट देखिने विहानीको दृष्य हेर्न लायक हुन्छ । हरेक दिन घाम आउनु अघि बाटोमा आइपुग्छन् स्वास्थ्य विभागका रिटायर्ड हाकिम ओम्नीकान्त । विहान वाकमा निस्कनु अघि उनले आज दाँतका सेट राख्न विर्सिएपछि चिनेजानेकाहरु पनि झुक्किएर नमस्कारै नगरि हिँडिरहेका छन् । दोस्रो पटकसम्म सेनामा छनौट हुन नसकेपछि अन्तिम दाउ छोप्न प्रतिवद्ध भएर एउटा युवक नियमित दौड लगाइरहेछ । उसको स्यान्डो गन्जीबाट देखिने तन्किदैं र खुम्चिँदै गरेको उसको छातीको आयतनमा ऊ अझै आफ्नो आशा भेट्टाउन खोजिरहेछ । बाटोमा विस्तारै अरु अरु दृष्यहरु थपिन्छन् । दूधको केन झुण्ड्याई हिँडेको साइकल, फूलकोभी र टमाटर बेच्न हिँडेको ठेलागाडी, घरका छोराछोरी र लोग्नेलाई खाजाखानाको व्यवस्था गर्ने हतारोमा फटाफट् तरकारीको मोलमोलाई गरिरहेकी गृहणी, काँधमा खर्पनको सन्तुलन मिलाउँदै बाटो काटिरहेको ज्यापु, अल्छीले हाइ काढ्दै पाउरोटी बेच्न हिँडेको बेकरी भ्यानको ड्राइभर, एउटा हातले साइकलको ह्याण्डल र अर्को हातले खबरकागत समाएर गुडिरहेको हकर, र वेट लसका लागि मर्निङ् वाकमा हिँड्दै गर्दा आपस्तमा सिमानाका बारेमा आफ्नो पार्टीका नेताले राखेको चट्टानी अडानका बारेमा फूईं लगाइरहेको र नक्कली राष्ट्रवादको आयु सोध्दै गरेका दुई छिमेकीहरु । घाम तन्नेरी हुँदै गएपछि यि दृष्यहरु आफैं ओझल पर्दै जान थाल्छन् ।
झ्याल जहाँ थियो त्यहीँ छ । झ्यालमा ति पुराना दृष्यहरु छैनन् । तर त्यसको अर्थ अहिले त्यो शून्यता भोगिरहेछ भन्ने पनि होइन । फेरिएका दृष्यहरु छन् । अथवा निरन्तर फेरिइरन्छन् ति दृष्यहरु । कोही त छ जो यसरी यति सजिलै पात्रहरु बदलिरहेको छ । दृष्यहरु बदलिरहेको छ । यो भवलाई एउटा रङ्गमञ्च बनाइरहेछ । सतहमा हेर्दा झ्यालले बाह्यताको झाँकी देखाइरहेको भए पनि कहिले काँही त्यसको प्रवाह र प्रभाव अन्तरमुखी छ कि जस्तो लाग्छ । झ्याललाई बिम्ब बनाएर रचिएका अनेकौं सिर्जनाहरु छन् । चिन्तनको कुन धाराले ति सर्जकहरुलाई झ्यालबाट बाहिर हेर्न लगायो होला? बाहिर हेरेर के के देखे होलान् ? अथवा अन्तरमनमा सादृष्य भइरहेको भावलाई उनीहरु प्रकटरुपमा झ्यालबाहिर खोजिरहेका पो थिए कि ? यि प्रश्नहरु अवश्यमेव सजिला छैनन् तर दैन्दिन्यतालाई भङ्ग गरेर नयाँ चिन्तनधारालाई कुत्कुत्याउन अवश्य सक्षम छन् भन्ने म महशुस गरिरहेको छु । गोविन्द बहादुर मल्ल गोठालेले पल्लो घरको झ्यालमा मिश्रीलाई पात्र बनाएर झ्यालबाट के हेर्न वा नहेर्न खोजेका हुनन् भन्ने विचार आफैंमा रोमाञ्चक लाग्छ । यसको कथानकले पाठलाई असजिलो भावदशामा पु¥याएर छाडिदिन्छ जहाँ झ्यालबाट हेरिहेकी पात्रप्रतिको सदाशयता न त्याग्न सकिन्छ न बचाइराख्न नै । झ्यालले कोही कसैलाई यस्तो विवशतामा लगेर किन छाडिदिन्छ? यसको उत्तर सायदै सरल होला ।
कयौं पटक मैले यो झ्याल भन्ने चिजै नभैदिएपनि हुने भन्ने सम्मको कल्पना पनि गरेकै हुँ । आफूलाई सुन्न देख्न मन नलागेका तर अरुलाई नसुनाई नदेखाई नभएका थुप्रै कुरा आइदिन्छन् । यस्तो अवस्थामा विदिर्ण भएको मनलाई, चेतनालाई कसरी सन्तुलित राख्ने भन्ने समस्या हुँदोरहेछ । तर अहिले फरक दृष्य छ झ्याल बाहिर । पल्लो घरको छतमा एक युवती लियो टोलस्टायको अन्ना केरेनिना पढिरहेकी छिन् । त्यसमा अन्ना र अलेक्सेय दुई मुख्य पात्रबीच विवाहेत्तर प्रेम सम्बन्धको गज्जबको वर्णन छ । तर पढ्दा पढ्दै ति युवती सोचमग्न हुन्छिन् । र हत्पत् छेउमा रहेको आफ्नो मोबाइल डायल गर्न थाल्छिन् । मानौं उनी स्वयम् अन्नामा रुपान्तरित भएकी छिन् र अचानक् अलेक्सेय वोरोन्स्कीको सम्झनाले उनलाई उत्ताउलो बनाइदिएको छ । छेऊमा एउटा दाह्रीवाल युवक दाह्री क्लबका आफ्ना साथीहरुलाई आजको ताजा तस्विर पठाउन पोज पोजमा सेल्फी लिइरहेको छ । उसले हातमा लिएको अरिस्टोटलको निकोमेकियन एथिक्स उसको लागि अहिले अर्थपूर्ण छैन । उसको क्लबको कार्यव्यापारको एथिक्स अलग छ । उसको आफ्नो खुशीको एथिक्स त्यो भन्दा झन् भिन्न छ ।
यो नैतिकता भन्ने कुरा सर्वमान्य मानक चाँहि होइन । स्थान र समय अनुसार, आवश्यकता र रुची अनुसार, अनुकूलता र प्रतिकूलता अनुसार मानिस फरक फरक मूल्यहरु बनाउँछ । नैतिकता सापेक्षिक हुन्छ जसलाई या त बुद्धि वा तर्कको शक्तिले वा सत्ताको शक्तिले मात्र प्रमाणित गर्न सकिन्छ । डबल स्ट्याण्डर्डको चुरो पनि यही नै हो सायद । बाटोमा देखिने मास्क लगाइरहेको मान्छे मलाई त्यही डबल स्ट्याण्डर्डको भौतिक काया जस्तो मात्र लाग्छ । यो झ्याल यस्ता कैयन सत्यको साक्षी छ जसलाई केवल दृष्यको संज्ञा दिएर अवमूल्ययन गर्न मिल्दैन । मैले हेर्न नभ्याएका ति तमाम सत्यहरुलाई यो झ्यालले आफ्नै मौनताको गर्तमा सुरक्षित पारिदिएको छ ।
(Published in Kalashree 2077)

Comments
Post a Comment