Skip to main content

सत्यको खोजी गर्ने अक्षर यात्रा

-       केशव सिग्देल


मूलत: अंग्रेजी भाषामा कविता र गैरआख्यान लेखिरहेका अक्षर साधक हेमराज काफ्ले पेशाले काठमाडौँ विश्‍वविद्यालयका अंग्रेजी विषयका सहप्राध्यापक हुन् । हरेक दिन कक्षाकोठामा भाषाका बारेमा, कविता र कथाका बारेमा, र समाज र मानवीय सम्बन्धहरूका बारेमा छलफल चलाइरहेको मानिसलाई त्यस्तो के छटपटी आइपर्छ होला, कुन हुट्हुटीले पिरोल्छ होला जसका कारण उनी त्यो गुम्फन फुकाउन आफूलाई कवितामा व्यक्त गर्न उद्यत हुन्छन् ? उनका कविताहरू पढ्दै गएपछि यो दुरुह लाग्ने प्रश्नको जवाफ त्यत्तिकै सजिलो गरी थाहा हुँदो रहेछ । आफ्नो प्राध्यापकीय भूमिकामा अन्वेषण गर्न नसकेका सत्यहरू खोज्न उनी काव्यको सहारा लिँदा रहेछन् । कविता उनका लागि तिनै सत्यहरूको खोजी रहेछ ।


मानव इतिहासको आदिम चेतना काव्यकै रूपमा अभिव्यक्त भएको कुरा ऐतिहासिक अध्ययनहरूले देखाएका छन् । एक हिसाबले हेर्दा कविता हृदयको वाणी हो । सक्‍कली र शक्तिशाली कविताहरू ती हुन् जसले हृदयको त्यो वाणीलाई अभिव्यक्ति दिन सक्छन् । जब कविता स्वयम् सत्य बनेर प्रकट भइदिन्छ, कविता साधनबाट आफैँ साध्य बनिदिन्छ । शब्द नै सत्य हुन्छ। सत्यको शालीन अभिव्यक्ति कै कविताको शक्ति हो ।

हामी लोभ, द्वेष, मोह, घृणा जस्ता मानवोचित मनोभाव र अवस्थाबाट गुज्रिरहेका हुन्छौँ, तर त्यसलाई स्विकार गर्न सकिरहेका हुँदैनौं । आफ्नो अनुकूलतालाई नै हामीले अरूलाई हेर्ने मानक बनाएका हुन्छौँ। प्रतिकूलताहरूलाई हामी नाजायज, अस्वाभाविक र त्याज्य देखाउन प्रयत्‍नशील रहन्छौँ । यो विरोधाभाषले सत्य झन् दुर्वोध्य हुँदै गएको छ । दुर्वोध्‍य हुँदै गएको त्यो सत्यलाई सुवोध तुल्याउन सक्‍ने क्षमताबाट कविताको शक्ति र सिमा मापन हुने देखिन्छ ।

जब कवितामा शब्दहरू सत्यको बिम्ब भएर उभिइन्छन्, त्यस्ता कविताहरूले युगदृष्‍टि प्रदान गर्छन् । अन्यथा कविता आफ्नै अनुहारको कालोपोतो ढाक्‍ने आकर्षक प्रसाधन भइदिन्छ । यो दृष्‍टिले हेर्दा काफ्लेका कविताहरूमा सत्यको निडर र निर्भिक अभिव्यक्ति भेटिन्छ । उनको अनुभवजनित अन्तर्दृष्‍टिले सामाजिक आडम्बरहरूका तथाकथित श्रृंगारहरू उतारेर असली अनुहार देखाइदिन्छ । र उनका कविताहरूमा हामी आफ्‍नै सक्‍कली अनुहार देखेर झस्किन्छौं ।

अक्षरहरूको बिस्कुन (२०७५) काफ्लेको तेस्रो प्रकाशित कृति हो । यस अघि उनका अंग्रजी भाषामा सिक्स स्ट्रिंग्स (संयुक्त कविता संग्रह, २०६८), मिडलाइफ मोन्टाज (आत्मपरक निवन्ध संग्रह, २०७३) प्रकाशित भइसकेका छन् ।  प्रस्तुत कविता संग्रह नेपाली भाषाको उनको पहिलो कृति बन्‍न गएको छ ।

अक्षरहरूको बिस्कुनभित्र संग्रहित कविताहरू हाम्रै साझा नियतिका चित्रहरू जस्ता लाग्छन् । सबै कबिताहरूलाई बुन्दै लग्यो भने शुत्र-कथा जस्तो बन्‍न जाँदो रहेछ । कवितामा एउटा पात्र ...सानो झोलामा / एक एक थान मयलपोस र कट्टु बोकेर / नाइट गाडीमा / सपनाको सहर ... पस्छ (फिर्ती, पृ. १४)।  त्यसपछि त्यही सपनालाई गोडमेल र मलजल गर्दै सपनाको उत्पादक र वितरक बन्छ (सपना, पृ. ९) । तर जीवन सोचे जस्तो कसरी हुन्थ्यो ?  बल्खु, पेरिसडाँडा, सानेपा/ बालकोट, बालुवाटार, बूढानिलकण्‍ठ (पृ. १४) जस्ता कुनै धाममा नधाइकन स्वाभिमानपूर्वक सपनाको व्यापार चलाउन उसलाई धौ परेपछि अहिले  ऊ आफैँ आयातित सपनाहरूको उपभोक्ता भएको छ (सपना, पृ. ९) ।

कसले खोस्यो उसका सपनाहरू ? ऊ निर्भिकताका साथ, इमानका साथ आफ्नो परिश्रममा बाँच्न चाहन्छ एक स्वतन्त्र अस्तित्व । तर त्यो परिवेश निर्माण गरिदिने राजनीतिक नेतृत्व उसले देखेको छैन । सायद नेताहरू उसमा एउटा विश्‍वासिलो कार्यकर्ताको गुण खोजिरहेछन् जो तिनको आदेशमा नैतिकतालाई बन्धक राखेर बलिदान हुन तयार होस् । यही विरोधाभाषका बीच जीवनमा सत्यको उसको खोजी निरन्तर चलिरहेछ:
खास
दुबैलाई थाहा छैन
हराएको के हो
नभेटिएको के हो
फगत जारी
खोजी आ-आफ्नो 
(खोजी पृ. ५)

कविले सतत् यात्रालाई जीवन वोध गर्ने माध्यम बनाएका छन् । उनलाई राम्ररी थाहा छ,  सुदूर यात्रामा निस्कनु अघि यात्राको सामल तयार गर्नुपर्छ, गन्तब्यको विहंगम दृष्‍टि लिनुपर्छ, कल्पनाहरू फुलाउनु पर्छ  र आफ्‍नै श्रम र पसिनाले सिंच्दै सिंच्दै त्यसलाई साकार तुल्याउनु पर्छ । तर जब यात्री स्वयमलाई त्य सपना देख्‍ने र आफ्नै सपनामा हिंड्ने छुट छैन, ऊ गन्तब्यहीन हुन जान्छ । कवि सचेततापूर्वक संशय व्यक्त गर्छन्ः
गाडी छ
बाटो छ
चालक छ
मालिक छ
यात्रु छन्
तर गन्तब्य ?
(यात्रा, पृ. ३६)
सायद हाम्रो नियति यही हो । कहाँ जाँदैछौँ भनेर थाहा नपाइकनै हामी हिंडिरहेका छौँ ।

काफ्लेका धेरैजसो कविताहरूले जिवन भोगाइका विरोधाभाषहरूलाई सरल र सरस रूपमा उतारेका छन् । गिलास शिर्षकको कवितामा उनले तथाकथित बुद्धिजिवीहरूको बुद्धिविलासको चित्र खिचेका छन्, जो आधा पानीको गिलासमाथि सिंङ्गै जीवन र सभ्यताका बारेमा वहस चलाउन सक्छन् तर अकर्मण्य छन् जो आफ्नै अगाडि खेर गइरहेको धारा बन्द गर्ने जाँगर देखाउँदैनन् । सकिने स-सानो सुधारका लागि हात नबढाउने, तर अरूलाई उपदेश दिई हिड्नेहरूको उछितो काढ्छन् कवितामा । कवि त्यसैले प्रश्‍न गर्छन्:

लुरूलुरू मल-पानी बोकिरहौँ
कि फल खाने बेलामा मात्र
अरूसंगै लाइनमा बसौँ ?
(जागिरपृ. ४१)

कवि श्रमको सम्मान नगर्ने वर्तमान समाजको कट्टर आलोचक छन् । श्रमको आधारमा नभई वर्ग र जातका नाममा अवसर र सुविधा लिएर ठूला कुरा गर्नेहरूलाई उनले लिगलिगे दौडका नव द्रब्य शाहहरू भनेर ब्यंग्य गरेका छन् (लिगलिगे, पृ. ४०) । यो अव्यवस्था, यो अन्याय, यो गन्तब्यहीन यात्रा कविलाई जिन्दगीको परीक्षाजस्तो लाग्दो रहेछ । उनले जिन्दगीलाई पूर्णाङ्‍क ताक्दा ताक्दै प्राप्‍ताङ्क नपाई अवसान हुनु पर्ने जिन्दगीको बडो अनौठो अवसरको रूपमा चित्रण गरेका छन् (जिन्दगी, पृ. ५०) ।

तर कवि हार्नेवाला छैनन् । यात्री हुन्, यात्रा छोड्नेवाला छैनन् । बरू सम्झौता गर्नु किन नपरोस् । तर उनले यो जगतको आडम्वर त्यही सम्झौता प्रक्रियामा पनि देखेका छन् ।  उनी आफ्नो विवेकले एक्लै हिंड्न पनि सक्छन् । तर सम्झौतालाई इन्कारेका छैनन् । अनि सम्झौता गरौँ भन्‍नेहरूलाई उनी सोध्छन्:

तिमी मेरो आकाशमा
अट्छौ कि अट्दैनौ?
ठाउँ पुगेन भने थोरै
घट्छौ कि घट्दैनौ?
(आकार, पृ. ५३)

तर मानिसहरू टसमस हुन चाहँदैनन्, अरूले नै सबै त्याग गरोस्, कम्प्रोमाइज गरोस् भन्‍ने चाहन्छन् । अनि त के चाहियो ? कविको रिस थामिनसक्‍नु हुन्छ । त्यसपछि उनी आफ्नै नियतितिर फर्किन्छन् । राजनीतिक नेतृत्वले आम मानिसहरूको सपनामा उक्लिएर सत्ता हाँसिल गरे, आफ्ना झोली भरे । तर नेतृत्वले जनतालाई तिनै अधुरा सपनाहरू बारम्बार फिर्ता गरिरहने हाम्रो यथार्थलाई उनी लेनदेन शीर्षकको कवितामा प्रतिकात्मक रूपले प्रस्तुत गर्छन् । आफूले श्रम पसिना बगाउने तर रिझाउनु पर्ने अर्कोलाई । यस्तो गुलामी उनलाई स्विकार छैन । उनी खबरदारी गर्छन्:

फेरि कुनै अन्‍नदाताको पूजामा
यहाँ कसैले खर्च गर्नु नपरोस्
उत्तिनै श्रोत, समय र पसिना
(खबरदारी, पृ. ६०)

कवि काफ्लेका कविताहरू सत्यको अन्वेषणमा लागेका अक्षरका बिस्कुनहरू हुन् । तर कवि सत्यको खोजी गर्न काल्पनिक उडानमा जाँदैनन्, बरू वरिपरिका असंगतिहरू उधिन्छन् ।  अनि अरूलाई उनको यो तरिका मन पर्दैन भन्‍ने पनि उनलाई भलिभाँति थाहा छ:

कोही छतमा बसेर
आकाशमात्र हेर्छन्
उडानको कल्पना गर्छन्
तलको कुरा देख्दैनन्
देख्‍न पनि चाहँदैनन्
अनि बिग्रेको, भत्केको सूचनालाई
आलोचना ठान्छन् ...
(हेराइ र देखाइ, पृ. ७४)

कविले आफ्नो जीवनयात्राका भोगाइहरूको  मन्थनबाट आफ्नै लागि केही सत्यहरू ठम्याएका छन् । आकाशतिर जति हिँड्दै गए पनि अडिने ठाउँ जमिन नै रहेछ भन्ने महसुस उनले गरेका छन् (महसुस, पृ. ६३) । जीवनमा सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा के होला ? मन ठूलो कि जीवन ? अथवा, धर्ती ठूलो कि ब्रम्हाण्ड ? कवि त अर्कै रहस्य फुकाउँछन्:
साँच्चै भनौँ ?
मेरो लागि
ब्रम्हाण् भन्दा
मेरो खित्का-सुस्केरा नै ठूलो
(के ठूलो ?, पृ. ६२)

उनी भिरको टुप्पोमा सिन्को वा फुसफुसे माटोमा अल्झी धक्‍का पर्खेर बसेको डल्लो, चिल्लो, चहकिलो ढुंगा हुनुभन्दा, पेलिएर, ठेलिएर, चेपिएर, कुनामा थन्केको, बाढीले, छालले हल्लाउन नसक्‍ने कुनै विरूप वस्तु भएर रहन रुचाउँछन् (सोच जिन्दगीको, पृ. ७५) ।

कविको खास ठम्याइ छ – आफ्नो विवेकले, आफ्नो श्रमले जहाँ पुगिन्छ, त्यहीँसम्म हिँडिरहने । त्यसका लागि उनले धेरै केही मागेका छैनन् । देशको एउटा नागरिकको रूपमा उनको एउटै अपेक्षा छ– “गरी खाने अवसर देऊ

२४ जेष्ठ २०७५
ट्याङ्लाफाँट, कीर्तिपुर







Comments

Popular posts from this blog

प्राज्ञहरु आफैं राजनैतिक नेतृत्वको दास हुने बाटो रोजेका छन्

केशव सिग्देलसँगको युगबाणी सम्बाद प्रकाशित मिति: २०७५ फागुन १८ नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ? नेपाली साहित्यको सिर्जनशिल फाँटले व्यापकता पाउँदै गएको छ। समाजको विकाससँगै जुन नयाँ मुद्दाहरु हामीले पाएका छौं, त्यसले विषयवस्तुको व्यापकतामात्रै बढेको छैन, नेपाली लेखकहरुको विश्वसाहित्यसँगको अन्तरक्रिया पनि बढेको छ। कम्तिमा हिन्दी र अङ्ग्रेजीमा उपलब्ध विदेशी साहित्यको अध्ययनले हाम्रो लेखनलाई विषय र प्रस्तुतीको हिसाबले अझ सम्मुनत पार्दै पनि लगेको छ। लैङ्गिक समानता, पहिचान, विज्ञानप्रविधिको प्रभावजस्ता विषयहरुले नै लेखनको संरचनामा नविनता माग गरिरहेका हुन्छन्। र सचेत ढङ्गले नयाँ पुस्ताकोको हस्तक्षेप बढेको छ।  पछिल्लो लेखनमा साधना कम भयो भन्ने आरोप पनि छ नि? त्यो स्वाभाविक छ। सबै लेखकहरु उत्तिकै गम्भिरतापूर्वक लेख्न सक्छन् भन्ने छ्रैन। सबै यसमा टिकिरहन्छन् भन्ने पनि छैन। अथवा टिकिरहे पनि राम्रा सिर्जना आइरहन्छन् भन्ने पनि होइन। तर साहित्यमा जुन सचेतताका साथ काम भइरहेको छ, त्यो सकारात्मक छ। साधना गर्नेहरुका सिर्जना दीर्घजिवी हुन्छन्। अरु केही समयपछि ह...

Men, Words and Metaphors: An Interview by Isha Gharti

Interview re-posted from   Fr ! day Bal Bahadur Thapa (Balu), Keshab Sigdel and Prakash Subedi, represent the Nepali poets/writers of the new generation. Over the last decade, in addition to their powerful writing, they have been very active in the literary scene. They have contributed to the theatre and film scenario and have been active through organizations such as Society of Nepalese Writers in English (NWEN), Literary Association of Nepal (LAN) and Devkota Study and Research Center (DSRC). Apt with skills, substance and a will to contribute to national literature, they are a strong force to be reckoned with. Steadily gaining national and international recognition, they are slowly changing the scene of English writing in Nepal. What made you get into literature? Bal Bahadur: “I used to read a lot when I was young, everything from Hindi comics, like Bankelal to Prakash Kobit to Thomas Hardy, which is what inspired me to write, though I only started writing afte...

Earthquake

by KESHAB SIGDEL The ground beneath the feet shakes Windowpanes swing with dooming creaks And where I live soon turns into a dancing house Before I connect any of these episodes of a                  rallying terror! Is it the life we love? Is it the death we fear? Sorry, it’s not the time to contemplate; But I see my dear ones run even when I am here Lovers, friends, parents and everyone who can They run and jump, and stroll and creep To make a sense of their being Through the last long breath they inhale.  I am stranded here in the crumbles of the razed house I’m no more a lover or a friend, but a sufferer. Sanity is a word of mockery — Vanity is not yet thought of — It doesn't matter if I want to go to them Or if they want to come to me in a new incarnation With a rescue plan, with cheer groups around, And the flashes and the annoying selfie-shutters.   Thanks God, I got to see the...