An Evening (Video Poem)
(In memory of the people disappeared during Nepal's civil war)
Click this link to watch it on YOUTUBE
Poem by: Keshab Sigdel
Directed by: Prakesh Sindhuliya
Featuring: Deepika Dhakal, Bigyannath Sharma, Himlata Sharma
केशव सिग्देल
एक साँझ
हरेक दिन घाम डुब्नु अघि
धुलो उडाउँदै
गाईहरु गोठ सम्झिएर फर्कन्छन् ।
बथानबाट छुट्टिएको बाख्राको पाठो
बुर्कुसी मार्दै घरको आँगनमा आइपुगेपछि
ढुक्क जस्तो देखिन्छ ।
घर नजिकै अम्बाका रुखहरुमा
झ्याँउकिरीको मसिनो आवाज पनि
भाका जगाएर चर्किदैं जान्छ ।
ससाना बादलहरुमा लुकामारी गर्दै
जुन टिलपिलाउन थाल्छ ।
दैलो नेर निलो फित्ता भएका आफ्ना चप्पलहरु
सुरक्षित राखेपछि
पिढींमा पलेंटी कसेर बस्छन् चाँदनीका बुवा
हुक्कामा तम्बाखु भर्छन्
र, चर्को डाँको गरेर
त्यसलाई सल्काउन आगो माग्छन् ।
यसरी वर्षौदेखि यो रुग्ण घरले
अभाव सहेरै भए पनि
खुशीको आफ्नै लय बनाएको थियो ।
अचानक आज
न धुलो उडाउँदै गाईहरु आए
न बुर्कुसी मार्दै बाख्राको पाठो आइपुग्यो ।
पानी पर्नलाई हो की
भ्यागुताहरु टर्टराएको एकनासको आवाज मात्र आइरहेछ ।
घर नजिकैको अम्बाको रुखनेर
फित्ता टुटेको अवस्थामा
चाँदनीका बुवाका तिनै चप्पलहरु छन् ।
कुन डरले हो
म पसीनाले भिज्दै गइरहेको छु ।
घर छेउको खेतको डीलमा
लछप्प भिजेको कपडा पनि छ ।
बादलले धमिलो हुँदै गएको जूनमा
म छुट्याउन सकिरहेको छैन
त्यो भिजेको लुगा
रातो झण्डा हो की
म आँफै विधवा भएको निस्सा !
Comments
Post a Comment