Skip to main content

झ्याल बाहिर

निबन्ध
केशव सिग्देल

म बस्ने कोठाको पूर्वी मोहोडाबाट एउटा बाटो हिँड्छ । झ्यालबाट म त्यो बाटो भएर गुज्रिने समयको राप र तापको भावभङ्गि हेर्छु । मानिसका मुर्झाइरहेका सपना, सुस्केरा र विस्मात् पनि देख्छु । ति र त्यस्ता अनेकौं भाव र दृष्यहरु त्यो बाटो भएर ओहोरदोहोर गरिरहन्छन् । एक हिसाबले आउँछन् र हराउँछन् । कहिले काँही कुनै घटना वा भावले उद्वेलित गर्छन् र ति दृष्यहरु मेरो दृष्यपटलका आकास्मिक नियमितता भएर गुज्रिरहन्छन् । झ्याल बाहिरको त्यो राग र त्यसको प्रभाव झ्यालभित्र पनि महशुस हुन्छ । सोच्दा सोच्दै कुनै समय म स्वयम् त्यही सडक भइदिन्छु । र मानिसहरुको त्यो चाप, त्यो दबाब मेरै शरिरमा उत्पन्न हुन्छ । त्यो तापले शरिरको चिन्तनधारालाई ब्युँताइदिन्छ र म विचारोत्तेजित एउटा फिलोङ्गो हुन्छु । त्यो फिलिङ्गोले मेरो आसपासमा रहेका सबै बस्तुहरु अब वस्तु नभएर मेरो मानस भवका, मेरो चिन्तन मण्डलका सामल हुन विवश हुन्छन् ।

भावनाजन्य अनेक प्रकारका यस्ता झञ्झावात् मसम्म आइपुग्न यही झ्याल दोषी छ कि जस्तो पनि लाग्छ । तर दृष्य वा विचार झ्याल वा ढोका भएर मात्रै हिँडेका त अवश्य हुँदैनन् । त्यो त एउटा संजोग हो । झ्याल सूत्राधार जस्तो भयो । सेतु जस्तो भयो । ति सबै हुनुका पछाडीको आर्किटेक्ट त यही मन हो । बस् चाहानुपर्छ इन्द्रप्रस्थ बनाइदिन्छ एकै क्षण । तर मन आफैं लाक्षागृह पनि हो । आफ्नै अभिमान, आफ्नै षड्यन्त्रको फन्दामा परेर दनदनी बलिरहन्छ । त्यो झ्याल न इन्द्रप्रस्थको याचक थियो न अभिमानमा जलिरहेको यो मानस समयका बारे विलाप गर्नुपर्ने कुनै अभिष्ट राख्छ ऊ । यही समताभाव नै झ्यालको अर्थ हो । जे आउनुछ, उसका लागि स्वागातापेक्षी भइदिन्छ । जे जानुछ विदाईको पनि साक्षी रहिदिन्छ ।

तर झ्यालबाट आजकाल देखिने दृष्य अलिक फरक छ । प्रत्येक मान्छे आफ्नो क्षमता र गक्ष अनुसारका मुकुण्डो लगाएर हिँडिरहेका छन् । सायद हाकाहाकी हिँड्नलाई यो समय उपयुक्त छैन । महाव्याधीको भयले मनमा भयंकर कम्प ल्याइदिएको छ । म देखिरहेछु अगलबगलका घरमा सुदूर गाउँका तमाम विद्यार्थीहरु अनमयस्क यताउता छटपटाइरहेछन् । आफ्ना साथीसम्पर्क देखि राजनैतिक प्रभाव सबै लाइफलाइन प्रयोग गरिसकेपछि यो खाल्डोमा अब बाँचिराख्न असम्भव हुँदैछ भन्ने आभाष उनिहरुको मुखमण्डलमा प्रष्ट हुँदै जाँदै छ । जो जहाँ जे जस्तो अवस्थामा छ, त्यहीँ त्यसरी नै रहनु भन्ने सरकारी फरमानको उपेक्षा गरेर यिनीहरुका झोलागुन्टा कंलकी चोक पुग्ने दौडमा निस्किएका छन् । त्यसपछिको अत्यास र सास्ती सायदै अहिले यिनिहरुको कल्पनामा होला । मेरा एकजना परिचित छन्, बडो उत्साही र जागरुक । सरकारको फरमान तामेली गर्नै यो लोकमा जन्मिएका हुन् जसो गरी मानिसहरुको केरकार गरिरहन्छन् । आफैं पुलिस र कानून भएर ओंठ तालु सुकाएर बेसाहारा सडकमा हिँड्ने ति मानिसको हुर्मत लिइरहन्छन् । तर जब भनसुनको प्रभावले सरकारी पास हात पार्छन्, त्यसपछि अन्य लोकलाई बर्जित सडकमा आफू भने साँढे भएर मोटर कुदाउँछन् र त्यसको भिडियो बनाएर फेसबुक र ट्विटरबाट हामीलाई झस्काइरहन्छन् ।

मेरो झ्यालसँगैको एक टुक्रा खालि जमिनमा छिमेकी बज्यै भर्र्खरै हुर्किन लागेका मकैका बोट गोड्दैछिन् । सँगसँगै बोडी र सिमीका बिउ पनि रोपिरहेकी छन् । सुकेका बाँस चिेरेर बारबेर लगाइएको छ । त्यही बारमा हाइजम्प हानेर दुईथान कुकुर बारीमा लडिबुडि गर्न आइपुग्छन् । हाइब्लड प्रेसरको सिकायत खेपिरेहेका ति बज्यैका अधबैशें छोरा खाली गोडाले बारीको छेऊ उम्रिएको दुबोमा हिँड्ने चेष्टा गरिरहेछन् । बाटोको शिरानतिर घरभएका हिराकाजी नयाँ ग्राहकलाई अलि परै उभिएर हातको इशाराले यही जमिनको टुक्रोतिर संकेत गरिरहेछन् । तर जग्गाको मालिक सायद अरु कोही हो । उसैको आदेशमा दुईजना मानिस फित्ता लिएर जग्गाको चारकुनो नापिरहेछन् । खाली रहेको यही एक टुक्रो जमिनले मेरो झ्याललाई उसको धर्म निर्वाह गर्न सामथ्र्यवान बनाइदिएको हो । म र त्यो बाटोलाई आमनेसामने बनाइदिएको हो । कथम् यहाँ अर्को घर ठडियो भने, यो जमिनको पूर्वी मोहोडाबाट हिँड्ने बाटो मेरा लागि एउटा कथा हुनेछ । झ्यालको अहिलेको सत्ता एउटा इतिहास बन्नेछ । म ढोकाबाट निस्किएर त्यो बाटोसम्म पुग्न त सकौंला । तर अरु कोही नै मलाई आफ्नो झ्यालबाट हेरिरहेको हुनेछ । फगत एउटा अवसाद बोकेर हिँडेको पात्र हुनेछु त्यतिखेर । म आफैं द्रष्टाबाट दृष्य भएको हुनेछु । कार्मिक दृष्टिले यो पतनको एउटा स्वरुप पनि हो । तर फेरी स्वरुप भन्नु भनेकै त्यो नै त्यसको अन्तिम सत्य होइन भन्ने पनि हो । फेरी द्रष्टा हुने, कर्ता हुने सम्भवाना जिवितै छ । मलाई पतन र उत्थानको कुराले भन्दा पनि कुनै व्यक्ति र वस्तुको अस्तित्व कसरी पराधिन हुँदो रहेछ भन्ने प्रकट ज्ञानले बढी तरङ्गित गरिरहेको छ । झ्यालको अस्तित्व त्यो खाली जमिन र खुला आकाशमा निर्भर रहेछ । स्वयम् म द्रष्टा हुनुको भावमा अडिएको रहेछ । अथवा सडक र त्यहाँ हिँडिरहेका मानिसहरु दृष्य हुनुको भावमा टिकेको रहेछ ।

झ्याल आफैं कारक होइन । त्यो त जानिएकै कुरा हो । तर जति पटक म त्यसको माध्यम भएर बाहिर दृष्टि पु¥याउँछु, दृष्यहरु फेरिदैं जान्छन् । मानौं आकाश आफैं एउटा सिनेमाको पर्दा हो र त्यसमा कोही निरन्तर असम्पादित दृष्यहरु देखाइरहेछ । आधुनिक प्रविधिको भाषामा एउटा लाइभ टेलिकास्ट । यसको छायाङ्कन कसले गरिरहेको होला? यसको कन्सेप्ट कसले तयार पा¥यो होला? निर्देशक को होला ? मलाई अकारण यस्तो लाइभ टेलिकास्ट हेर्ने सुविधा किन प्राप्त भएको होला ? यि र यस्ता अनेकौं प्रश्नहरु मेरो मनमा नआउने होइनन् । तर ति प्रश्नहरुले मलाई चिन्तनको गहिरो भूमरीमा पु¥याइदिन सक्छन् जहाँबाट सजिलै उत्रन सम्भव छैन । अरुले सोधेका भन्दा आफ्नै मनमा अकारण आइदिने यस्ता प्रश्नहरुले मलाई बढि भयभित तुल्याइदिन्छन् । यि केवल प्रश्नहरु मात्र होइनन् जसले सपाट उत्तरहरु खोजिरहेका होऊन् । यि समयले बुनेका चक्रव्यूह हुन् । कसैगरी त्यसभित्र पसि नै हालियो भने पनि त्यसबाट उम्किएर आउन सम्भव हुने छैन । सिङ्गै मानव सभ्यता यही चक्रव्यूहको रचनागर्भ थाहा पाउन आदिम कालदेखि लागि परेको हो । टुक्रा टुक्रामा, हिस्सा हिस्सामा केही बुझिएको जस्तो भएर पनि केही नबुझिएको समयको यो व्यूहको कल्पनाले पनि म क्लान्त हुन्छु ।

झ्यालबाट देखिने विहानीको दृष्य हेर्न लायक हुन्छ । हरेक दिन घाम आउनु अघि बाटोमा आइपुग्छन् स्वास्थ्य विभागका रिटायर्ड हाकिम ओम्नीकान्त । विहान वाकमा निस्कनु अघि उनले आज दाँतका सेट राख्न विर्सिएपछि चिनेजानेकाहरु पनि झुक्किएर नमस्कारै नगरि हिँडिरहेका छन् । दोस्रो पटकसम्म सेनामा छनौट हुन नसकेपछि अन्तिम दाउ छोप्न प्रतिवद्ध भएर एउटा युवक नियमित दौड लगाइरहेछ । उसको स्यान्डो गन्जीबाट देखिने तन्किदैं र खुम्चिँदै गरेको उसको छातीको आयतनमा ऊ अझै आफ्नो आशा भेट्टाउन खोजिरहेछ । बाटोमा विस्तारै अरु अरु दृष्यहरु थपिन्छन् । दूधको केन झुण्ड्याई हिँडेको साइकल, फूलकोभी र टमाटर बेच्न हिँडेको ठेलागाडी, घरका छोराछोरी र लोग्नेलाई खाजाखानाको व्यवस्था गर्ने हतारोमा फटाफट् तरकारीको मोलमोलाई गरिरहेकी गृहणी, काँधमा खर्पनको सन्तुलन मिलाउँदै बाटो काटिरहेको ज्यापु, अल्छीले हाइ काढ्दै पाउरोटी बेच्न हिँडेको बेकरी भ्यानको ड्राइभर,  एउटा हातले साइकलको ह्याण्डल र अर्को हातले खबरकागत समाएर गुडिरहेको हकर, र वेट लसका लागि मर्निङ् वाकमा हिँड्दै गर्दा आपस्तमा सिमानाका बारेमा आफ्नो पार्टीका नेताले राखेको चट्टानी अडानका बारेमा फूईं लगाइरहेको र नक्कली राष्ट्रवादको आयु सोध्दै गरेका दुई छिमेकीहरु । घाम तन्नेरी हुँदै गएपछि यि दृष्यहरु आफैं ओझल पर्दै जान थाल्छन् ।

झ्याल जहाँ थियो त्यहीँ छ । झ्यालमा ति पुराना दृष्यहरु छैनन् । तर त्यसको अर्थ अहिले त्यो शून्यता भोगिरहेछ भन्ने पनि होइन । फेरिएका दृष्यहरु छन् । अथवा निरन्तर फेरिइरन्छन् ति दृष्यहरु । कोही त छ जो यसरी यति सजिलै पात्रहरु बदलिरहेको छ । दृष्यहरु बदलिरहेको छ । यो भवलाई एउटा रङ्गमञ्च बनाइरहेछ । सतहमा हेर्दा झ्यालले बाह्यताको झाँकी देखाइरहेको भए पनि कहिले काँही त्यसको प्रवाह र प्रभाव अन्तरमुखी छ कि जस्तो लाग्छ । झ्याललाई बिम्ब बनाएर रचिएका अनेकौं सिर्जनाहरु छन् । चिन्तनको कुन धाराले ति सर्जकहरुलाई झ्यालबाट बाहिर हेर्न लगायो होला? बाहिर हेरेर के के देखे होलान् ? अथवा अन्तरमनमा सादृष्य भइरहेको भावलाई उनीहरु प्रकटरुपमा झ्यालबाहिर खोजिरहेका पो थिए कि ? यि प्रश्नहरु अवश्यमेव सजिला छैनन् तर दैन्दिन्यतालाई भङ्ग गरेर नयाँ चिन्तनधारालाई कुत्कुत्याउन अवश्य सक्षम छन् भन्ने म महशुस गरिरहेको छु । गोविन्द बहादुर मल्ल गोठालेले पल्लो घरको झ्यालमा मिश्रीलाई पात्र बनाएर झ्यालबाट के हेर्न वा नहेर्न खोजेका हुनन् भन्ने विचार आफैंमा रोमाञ्चक लाग्छ । यसको कथानकले पाठलाई असजिलो भावदशामा पु¥याएर छाडिदिन्छ जहाँ झ्यालबाट हेरिहेकी पात्रप्रतिको सदाशयता न त्याग्न सकिन्छ न बचाइराख्न नै । झ्यालले कोही कसैलाई यस्तो विवशतामा लगेर किन छाडिदिन्छ? यसको उत्तर सायदै सरल होला ।

कयौं पटक मैले यो झ्याल भन्ने चिजै नभैदिएपनि हुने भन्ने सम्मको कल्पना पनि गरेकै हुँ । आफूलाई सुन्न देख्न मन नलागेका तर अरुलाई नसुनाई नदेखाई नभएका थुप्रै कुरा आइदिन्छन् । यस्तो अवस्थामा विदिर्ण भएको मनलाई, चेतनालाई कसरी सन्तुलित राख्ने भन्ने समस्या हुँदोरहेछ । तर अहिले फरक दृष्य छ झ्याल बाहिर । पल्लो घरको छतमा एक युवती लियो टोलस्टायको अन्ना केरेनिना पढिरहेकी छिन् । त्यसमा अन्ना र अलेक्सेय दुई मुख्य पात्रबीच विवाहेत्तर प्रेम सम्बन्धको गज्जबको वर्णन छ । तर पढ्दा पढ्दै ति युवती सोचमग्न हुन्छिन् । र हत्पत् छेउमा रहेको आफ्नो मोबाइल डायल गर्न थाल्छिन् । मानौं उनी स्वयम् अन्नामा रुपान्तरित भएकी छिन् र अचानक् अलेक्सेय वोरोन्स्कीको सम्झनाले उनलाई उत्ताउलो बनाइदिएको छ । छेऊमा एउटा दाह्रीवाल युवक दाह्री क्लबका आफ्ना साथीहरुलाई आजको ताजा तस्विर पठाउन पोज पोजमा सेल्फी लिइरहेको छ । उसले हातमा लिएको अरिस्टोटलको निकोमेकियन एथिक्स उसको लागि अहिले अर्थपूर्ण छैन । उसको क्लबको कार्यव्यापारको एथिक्स अलग छ । उसको आफ्नो खुशीको एथिक्स त्यो भन्दा झन् भिन्न छ ।

यो नैतिकता भन्ने कुरा सर्वमान्य मानक चाँहि होइन । स्थान र समय अनुसार, आवश्यकता र रुची अनुसार, अनुकूलता र प्रतिकूलता अनुसार मानिस फरक फरक मूल्यहरु बनाउँछ ।  नैतिकता सापेक्षिक हुन्छ जसलाई या त बुद्धि वा तर्कको शक्तिले वा सत्ताको शक्तिले मात्र प्रमाणित गर्न सकिन्छ । डबल स्ट्याण्डर्डको चुरो पनि यही नै हो सायद । बाटोमा देखिने मास्क लगाइरहेको मान्छे मलाई त्यही डबल स्ट्याण्डर्डको भौतिक काया जस्तो मात्र लाग्छ । यो झ्याल यस्ता कैयन सत्यको साक्षी छ जसलाई केवल दृष्यको संज्ञा दिएर अवमूल्ययन गर्न मिल्दैन । मैले हेर्न नभ्याएका ति तमाम सत्यहरुलाई यो झ्यालले आफ्नै मौनताको गर्तमा सुरक्षित पारिदिएको छ ।
(Published in Kalashree 2077)

Comments

Popular posts from this blog

Open Call for Poetry on "Madness"

  World Poetry Movement - Nepal , in collaboration with RedPanda Books , a publication partner in Kathmandu, is soliciting poems from poets around the world on the theme of madness for a global poetry anthology. It is our pleasure that Society of Nepali Writers in English, Foundation of SAARC Writers and Literature, Asian Center for Humanities, 100 Thousand Poets for Change, and Movimiento Poetas del Mundo have also joined us as our poetry partners.   Why poetry on madness? The earth is our common home. Mountains, rivers, land, and the political and economic system governing this world should have been used for the benefit of all living beings including humankind. But, the reality is scarily different! World political leaders have turned into power mongers. Economic and social systems have been largely manipulated by the capitalists in their cravings for profits. Unstoppable desires for physical development have led to the destruction of natural ecology resulting in depletion of o

An Evening (Video Poem)

An Evening (Video Poem) (In memory of the people disappeared during Nepal's civil war) Click this link to watch it on YOUTUBE Poem by: Keshab Sigdel Directed by: Prakesh Sindhuliya Featuring: Deepika Dhakal, Bigyannath Sharma, Himlata Sharma केशव सिग्देल एक साँझ हरेक दिन घाम डुब्नु अघि धुलो उडाउँदै  गाईहरु गोठ सम्झिएर फर्कन्छन् । बथानबाट छुट्टिएको बाख्राको पाठो बुर्कुसी मार्दै घरको आँगनमा आइपुगेपछि ढुक्क जस्तो देखिन्छ । घर नजिकै अम्बाका रुखहरुमा झ्याँउकिरीको मसिनो आवाज पनि भाका जगाएर चर्किदैं जान्छ । ससाना बादलहरुमा लुकामारी गर्दै जुन टिलपिलाउन थाल्छ । दैलो नेर निलो फित्ता भएका आफ्ना चप्पलहरु  सुरक्षित राखेपछि पिढींमा पलेंटी कसेर बस्छन् चाँदनीका बुवा हुक्कामा तम्बाखु भर्छन् र, चर्को डाँको गरेर  त्यसलाई सल्काउन आगो माग्छन् । यसरी वर्षौदेखि यो रुग्ण घरले अभाव सहेरै भए पनि  खुशीको आफ्नै लय बनाएको थियो ।  अचानक आज  न धुलो उडाउँदै गाईहरु आए न बुर्कुसी मार्दै बाख्राको पाठो आइपुग्यो । पानी पर्नलाई हो की भ्यागुताहरु टर

Men, Words and Metaphors: An Interview by Isha Gharti

Interview re-posted from   Fr ! day Bal Bahadur Thapa (Balu), Keshab Sigdel and Prakash Subedi, represent the Nepali poets/writers of the new generation. Over the last decade, in addition to their powerful writing, they have been very active in the literary scene. They have contributed to the theatre and film scenario and have been active through organizations such as Society of Nepalese Writers in English (NWEN), Literary Association of Nepal (LAN) and Devkota Study and Research Center (DSRC). Apt with skills, substance and a will to contribute to national literature, they are a strong force to be reckoned with. Steadily gaining national and international recognition, they are slowly changing the scene of English writing in Nepal. What made you get into literature? Bal Bahadur: “I used to read a lot when I was young, everything from Hindi comics, like Bankelal to Prakash Kobit to Thomas Hardy, which is what inspired me to write, though I only started writing after I